संविधान बनाउन दुनियाँको कुनै ताकतले रोक्न सक्दैन : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ३:०९ मा प्रकाशित

चितवन, १९ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमा संविधान जारी गरिने बताएका छन् ।

sushilप्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानकोे स्मृतिमा नेपाल प्रेस युनियन चितवनको नाममा स्थापना गर्न लागेको अक्षयकोष रकम हस्तान्तरण समारोहमा उनले दुई तिहाई मतबाट पेलेर संविधान बनाउने उद्देश्य आफ्नो नरहेको स्पष्ट पारेका हुन् ।

‘सबै कुरा सहमतिबाटै टुङ्गिँदै आएको छ ’, उनले भने , ‘सहमतिमै माघ ८ गते संविधान जारी हुुन्छ, संविधानसभा बाहिर रहेको नेकपा–माओवादीसहित दललाई समेत समेट्ने प्रयास भइरहेको छ ।” प्रधानमन्त्री कोइरालाले धम्कीको भाषा नबोल्न सबैसँग आग्रह पनि गरे ।

उनले भने – ‘संविधान बनाउने कुरामा प्रचण्डजीहरु सकारात्मक हुनुहुन्छ, संविधान बन्न कसैले नदिए त्यसलाई जनताले छाड्दैनन्, अब संविधान बन्नलाई कसैको ताकतले रोक्न सक्दैन ।’ अबको द्वन्द्व मुलुकले थेग्न नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले विगतमा संवैधानिक राजतन्त्र मान्दै गर्दा उनीहरुकै कारण जसरी राजतन्त्र समाप्त भयो त्यसैगरी जनतासँग जोरी खोज्ने आफै समाप्त भएर जाने उल्लेख गरे ।

एक प्रसङ्गमा उनले भने, ‘जुन दिन संविधान घोषणा हुन्छ त्यसै दिन म राजीनामा दिनेछु, त्यसपछि बाटो खुल्छ, म अहिले आफू स्वस्थ छु, दुइटा क्यान्सरले मलाई खान खोजेको थियो, मैले नै क्यान्सर खाइदिएँ ।’

बुधबार हस्तान्तरण गरिएको अक्षयकोष रकमको ब्याजबाट दुःख परेका बेला पत्रकारलाई सहयोग गरिने युनियन चितवनले जनाएको छ । यसअघि प्रधानमन्त्री कोइरालासहित चितवनबाट निर्वाचित सभासद्लाई काँग्रेस चितवनले सम्मान गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us