अर्थ समितिका सभासदलाई लोकमानले थर्काए

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ५:५८ मा प्रकाशित

lokmanकाठमाण्डु, १९ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले अर्थ समितिका सभासदलाई थर्काएका छन् ।

समितिमा बुधबार उपस्थित भएका कार्कीले अबदेखि अनुगमन तथा सुशासन समितिबाहेक संसदका अरु समितिमा आफू उपस्थित नहुने बताए ।

कार्कीले अरु समितिमा यो अन्तिम भन्दै अब अनुगमन तथा सुशासनबाहेक अरु समितिमा नजाने घोषणा गरेका हुन् । अर्थ समितिले कार्कीलाई काबेली जलविद्यतु आयोजना खारेज गर्ने निर्णयका सम्बन्धमा जानकारी लिन बोलाएको थियो । कार्कीले भ्रष्टाचारसम्बन्धी ऐन, संविधान र आफ्नै नियमावली अनुसार आयोगले काम गरिरहेको भन्दै क्षेत्राधिकार मिचेको भन्ने आरोप झुटो भएको दाबी गरे ।

ऐन नियमले दिएको भन्दा बाहिरको काम आयोगले नगरेको र आयोग सधैं विधिको शासनमा प्रतिबद्ध रहने कार्कीको जिकिर छ । सभासदहरुले विकासविरोधी भनेर आरोप लगाएको जवाफमा कार्कीले अख्तियार विकासविरोधी नभएको स्पष्टीकरण दिए ।
काबेली जलविद्युत आयोजना खारेज गर्न अख्तियारले निर्देशन दिएको भन्ने खबरहरु आइरहेको र बास्तविकता त्यस्तो नभएको उनको दाबी छ । उनले आयोगले प्राप्त गरेको फाइलमा काबेली आयोजनाको आर्थिक अवस्थासमेत स्पष्ट नभएको जानकारी दिए ।

कार्कीले आफूहरुले नियम अनुसार नै काम गरिरहेको बताए पनि एमाले सभासद् सुरेन्द्र पाण्डेले काबेली जलविद्युत आयोजना खारेजीको सम्बन्ध भने नियमअनुसार नभएको भन्दै कुन कानुनअनुसार निर्देशन दिइयो भनेर प्रश्न गरेका थिए । उनले आयोगले ‘वाच डग’ को काम गर्नुपर्ने भए पनि ‘बाइटिङ डग’ का रुपमा गतिविधि गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us