काठमाण्डु, १९ कात्तिक– राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालिन सात दल र नेकपा माओवादीबीच भएका सबै गलत सहमति र सम्झौता सच्याउन जनमत
संग्रहमा जानुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले विपरीत राजनीतिक गन्तव्य भएका दलहरूको अपवित्र गठबन्धनका कारण मुलुकमा अप्ठेरो परिस्थिति सिर्जना भएको दाबी गरेका छन् । उनले राजतन्त्रको अन्त्य र संघीयताजस्ता विषय १२ बुँदे समझदारीमा नरहेको जिकिर गरेका छन् ।
‘१२ बुँदेमा संविधानसभाबाट नयाँ संविधान बनाउने र नयाँ राज्य प्रणाली कायम गरिने भनिएता पनि सहमतिविपरीत नेपाली जनताको अभिमतबिना नै संविधानसभाको चुनाव अगाबै सनातन हिन्दुराष्ट्रको पहिचान समाप्त पार्ने, राजसंस्थालाई पाखा लगाउने, जातीय आधारमा संघीयताको बीजारोपण गर्ने, राष्ट्रघाति नागरिकता ऐन कार्यान्वयन गर्ने जस्ता कार्यहरु सम्पन्न गरियो, ‘थापाले भनेका छन्, ‘जर्बजस्ती लादिएका ती विषयहरुको विरोधमा आवाज उठाउनेहरुलाई प्रतिगामी र जनविरोधीको आरोप लगाइयो, सांघातिक आक्रमण गरियो र सामाजिक बहिष्कार गरियो ।’
उनले दलहरुले गलत दिशा लिएका कारण ९ वर्षको राजनीतिक प्रत्योगले देशलाई अपुरणीय क्षति पुर्याएको बताएका छन् । थापाले काँग्रेस–एमाले र एमाओवादीबीच पछिल्लो समय उत्पन्न विवादबारे व्यंग्य गरेका छन् ।
उनले तत्कालिन स्वार्थ प्राप्तिका लागि बाह्य शक्तिले एक ठाउँमा जुटाई दिएका शक्तिहरु पुन: आ–आफ्नो बाटो लाग्नुलाई स्वाभाविक मान्नुपर्ने तर्क गरेका छन् । ‘संविधान निर्माणको सन्दर्भमा हाल देखिएको विवाद र द्वन्द्व त्यसैको परिणाम हो, काठमाण्डुबाट पूर्वको काकरभिट्टा जान हिँडेका यात्री र पश्चिमको महेन्द्रनगर जान हिँडेका यात्रीहरूका बीचमा लामो समय सहयात्रा र सहकार्य हुन सक्दैन, नारायणघाट पुगेपछि छुट्टिनु अनिवार्य छ ।’
थापाले संसदीय प्रजातन्त्र पक्षधर र त्यसलाई ध्वस्त पारेर जनवादी राज्यसत्ता स्थापना गर्न चाहने शक्तिबीचमा मिलन बिन्दु हुनै नसक्ने उल्लेख गरेका छन् ।
विगतका गल्ती सच्याएर सबैका विकल्पहरु जनतामा लागि जनमत संग्रहबाट टुंग्याउनु उपायुक्त हुने उनको धारणा छ ।