स्थानीयले रोके हनुमन्ते खोला फर्काउने दलालहरुको योजना

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ११:४५ मा प्रकाशित

भक्तपुर, १८ कात्तिक– केही भूमाफिया तत्वले मध्यपुरथिमि नगरपालिका र बालकोट गाविसको सिमाना भएर बग्ने हनुमन्ते खोलाको बहाव फर्काएर खोला सार्न गरेको प्रयत्न स्थानीयले रोकेका छन् । भूमाफियाले खोला फर्काउन प्रयत्न गरेपछि यसविरुद्ध मध्यपुरथिमि नगरपालिका, थिमिका राजनीतिक दलहरू र स्थानीय बासिन्दा उत्रिएका हुन् ।

केही वर्ष अघिदेखि नै भूमाफिया तत्वले खोलाको बहाव थिमितिर फर्काएर करोडौँ मूल्य बराबरको सार्वजनिक जग्गा प्लानिङ गरी बिक्री गर्ने प्रयास भएपछि यस क्षेत्रमा थिमि नगरपालिकाका बासिन्दा र भूमाफिया तत्वबीच पटकपटक झडपसमेत भएको थियो ।

भूमाफियाको खोला फर्काउने प्रयासविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि डेढ वर्षअघि सर्वोच्च अदालतले तत्काल खोला फर्काउने कार्य नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेपछि पनि माफिया तत्वले राति र दिउँसो गरी पटकपटक खोला फर्काउने प्रयास जारी राखे पछि थिमिमा यस्तो निर्णय भएको हो ।

अदालतको आदेश विपरीत केही दिनअघि पनि खोला फर्काउने प्रयास भएपछि मध्यपुरथिमि नगरपालिकामा गत बिहीबार भएको राजनीतिक दलसमेतको बैठकले मध्यपुरथिमि नगरपालिका वडा नं १५ र बालकोट गाविस वडा नं ३ र ९ को सिमाना हनुमन्ते खोलाको बहाव फर्काउन नदिने सामूहिक निर्णय भएको नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले जानकारी दिए ।

उनाले हनुमन्ते खोला किनारामा अवस्थित ब्लक कारखानाको आसपासमा बालकोटतर्फका केही अनधिकृत व्यक्तिले अनधिकृत तवरबाट डोजर प्रयोग गरी हनुमन्ते खोलाको प्राकृतिक बहाव परिवर्तन गरी मध्यपुरथिमि नगरपालिकातर्फ सार्ने दुश्प्रयास पटकपटक हुँदै आएकाले यसलाई रोक्न थिमिका सबै निकाय एकजुट हुने निर्णय गरेको जानकारी दिए ।

नगरपालिकाले सरकारी सार्वजनिक पर्ती जग्गा संरक्षणका लागि पहल सुरु गरेको बेलामा फेरि पनि खोला सार्ने प्रयास कतै कसैबाट भएमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सबै राजनीतिक दल, स्थानीय जनसमुदाय र नगरपालिका समेत एकजुट भई खोला फर्काउन नदिने सहमति भएको छ ।

मध्यपुरथिमि नगरपालिकाको अगुवाइमा गत बिहीबार बसेको सर्वदलीय बैठकमा नेपाली काँग्रेसका मध्यपुरथिमि नगर समितिका सभापति अष्टकुमार कवें, नेकपा एमालेका नगर सभापति मदनसुन्दर श्रेष्ठ, एमाओवादीका कृष्णलाल गोजा श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका केदार खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का भुवन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ, नेकपा माओवादीका बालकृष्ण श्रेष्ठ, नेकपा मालेका चन्द्रगोपाल श्रेष्ठलगायतका नेताले उक्त निर्णय गरेका थिए ।

भूमाफियाले फेरि पनि खोला फर्काउने प्रयास गरे थिमिका राजनीतिक दलका प्रतिनिधि एवम् स्थानीय बासिन्दाले त्यसको कडा प्रतिकार गर्ने भएका छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us