बालिकाको लुगा च्यातेर बलात्कार गर्न खोज्नेलाई कैद सजाय

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते १०:१४ मा प्रकाशित

लहान, १८ कात्तिक – नाबालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा जिल्ला अदालत राजविराजले एक युवकलाई चार वर्ष चार महिनाको कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सप्तरीको सीतापुर गाविसकी १२ वर्षीया बालिकालाई बलात्कार खोजेको भन्दै सीतापुर गाविस–१ निवासी ३५ वर्षीय नागेन्द्रकुमार चौधरीलाई उक्त कैदको सजाय सुनाएको हो ।

बालिकाको लुगा च्यातेर जबर्जस्ती करणी गर्न खोजेको ठहर गर्दै अदालतले चौधरीलाई कैद सजाय सुनाएको पीडित बालिकाका कानुन व्यवसायी अशोककुमार चौधरीले जानकारी दिए ।

काम विशेषले आफू र आफ्नी श्रीमती लहान गएको मौका छोपी पानी माग्ने बहानामा घरभित्र लगी चौधरीले आफ्नी १२ वर्षीया नाबालिकालाई २०७० साउन १० गते जबर्जस्ती करणी गरेको भन्दै पीडित नाबालिकाका पिताले जिल्ला अदालतमा चौधरीविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसअघि उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै २०७० मङ्सिर २७ गते जिल्ला अदालत राजविराजले अभियुक्त चौधरीलाई थुनामा राखी पुर्पक्ष गर्न दिएको आदेशलाई पुनरावेदन अदालत राजविराजले उल्टाउँदै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

पुनरावेदन अदालत राजविराजका न्यायाधीश बलराम विष्ट र मोहनबहादुर कार्कीको संयुक्त इजलासले पीडित नाबालिकाको यौनाङ्गमा कुनै चोटपटक नदेखिएको तथा प्रतिवादी चौधरीले घटनामा संलग्नता अस्वीकार गर्दै वारदातको समयमा बिरामी भई वीरअस्पताल काठमाण्डुमा उपचाररत रहेको भनी अस्पतालको डिस्चार्ज टिकटसमेत पेस गरेकाले जिल्ला अदालत राजविराजले पुर्पक्षमा राख्न दिएको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्न आदेश थियो ।

तर पुनरावेदन अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै पीडित बालिकाका बुबाले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

पीडितको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत राजविराजको फैसलालाई उल्टाउँदै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us