काठमाण्डु, १८ कात्तिक – फिनल्याण्डको विकास सहायता विभाग प्रमुखको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँचदिने औपचारिक भ्रमणमा आगामी आइतबार नेपाल आउने भएको छ ।
फिनल्याण्डको सहायतामा नेपालमा सञ्चालित विकास आयोजनाहरूबारे जानकारी लिन परराष्ट्र मन्त्रालयको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो ।
उक्त मुुलुकको परराष्ट्र मन्त्रालयअन्तर्गतको विकास सहायता विभाग प्रमुख एने सिपिलियानेनको नेतृत्वमा भ्रमण गर्ने फिनिस टोलीमा त्यहाँका नीतिनिर्मातासहित १७ जना सहभागी रहेका यहाँस्थित फिनल्याण्डको राजदूतावासले जनाएको छ । प्रतिनिधिमण्डलमा सांसद, पत्रकार, व्यापारी तथा वरिष्ठ सरकारी अधिकृत सम्मिलित छन् ।
प्रतिनिधिमण्डलले नेपालको मन्त्रिपरिषद्का विभिन्न सदस्य तथा उच्च अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुका साथै फिनल्याण्डको सहयोगमा कास्की, पर्वत र तनहुँमा सञ्चालित विकास आयोजनाको स्थलगत निरीक्षण गर्नेछ ।
उक्त मुलुकले नेपालको शिक्षा, वन, ग्रामीण खानेपानी आपूर्ति तथा सरसफाइ र मानव अधिकारको क्षेत्रमा सहयोग गर्दै आएको छ ।
अनुदान सहायतास्वरुप फिनल्याण्डले नेपाललाई वार्षिक रु दुई अर्ब ५० करोडभन्दा बढी सहायता प्रदान गर्दै आएको छ । यसका अतिरिक्त ५० वटा गैरसरकारी संस्थामार्फत पनि उक्त देशले नेपालको आर्थिक–सामाजिक उन्नयनमा सघाइरहेको छ । रासस