संविधान कोठामा बसेर कविता लेखे जस्तो होइन : राई

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ६:५६ मा प्रकाशित

पाँचथर, १८ कात्तिक – सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले संविधान कोठामा बसेर मनोगत ढङ्गले कविता लेखे जस्तो नहुने बताएका छन् ।

ashok rai२२ दलीय मोर्चाको पाँचथर फिदिममा हुने जनसभालाई सम्बोधन गर्दै राईले मङगलबार संविधान परिवर्तनका लागि भएका दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेस आन्दोलनलगायका महत्वपूर्ण आन्दोलनको उपलब्धि गुम्दै गएको र सत्तारुढ दलहरुले ‘उहिलेका कुरा खुइले’ भन्न थालेको बताए ।

कानुनी र राजनीतिक दस्तावेज मात्रै नभई संविधान सामाजिक सम्झौताको दस्तावेज पनि हो भन्दै उनले सत्तारुढ दलहरुले कविता लेखे जस्तै संविधान लेख्न खोजेको आरोप लगाए ।

उनले आगामी माघ ८ गते संविधान जारी नहुने दाबी पनि गरे । संवैधानिक हिसाबले संविधानसभाको कार्यकाल चार वर्ष भएकाले अहिले नै साइत गुज्रयो भनेर डराउन नहुने उनको भनाइ छ ।

अध्यक्ष राईले १० प्रदेशभन्दा कम प्रदेश हुन नहुने तर्क पनि प्रस्तुत गरे । अघिल्लो संविधानसभामा विज्ञ सम्मिलित टोलीले पनि १० प्रदेशकै खाका प्रस्तुत गरेकाले यही नै वैज्ञानिक राज्य पुनःसंचरना हुने उनको भनाइ छ ।

सङ्घीय राज्यको नामकरणको आधार जातीय पहिचान नै हुनुपर्ने उनको धारणा छ । एक फरक प्रसङ्गमा उनले सत्तारुढ दलहरुलाई जनसंविधानका लागि दबाब दिन २२ दलीय गठबन्धनले आज फिदिममा जनसभा गर्न लागेको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us