ट्रकले यात्रु र बसले सामान बोक्न नपाउने

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते २:५६ मा प्रकाशित

धादिङ, १८ कात्तिक– ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना कम गर्न मालबाहक गाडीले यात्रु बोक्न र यात्रुबाहक गाडीले व्यावसायिक मालसामान बोक्न नपाउने भएका छन् ।

केही समयदेखिको बढ्दो सवारी दुर्घटनामा धेरैले ज्यान गुमाएकाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सतर्कता सम्बन्धमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक कार्यालय गजुरीको आयोजनामा बसेको बैठकले मालबाहकले यात्रु र यात्रुबाहक गाडीले मालसामान बोक्न नपाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे तथा स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङसमेतको उपस्थितिमा भएको बैठकमा राजमार्ग क्षेत्रका होर्डिङबोर्ड हटाउन र मेटिएका ट्राफिक सङ्केतहरु तत्काल डिभिजन सडक कार्यालय भरतपुरबाट राख्न लगाउने, क्षमताभन्दा बढी यात्रु राखेको पाइएमा कडा कारबाही गर्ने निर्णय पनि गरिएको छ ।

कार्यक्रममा चालकको आचरण तथा व्यवहार, ट्राफिक नियमको पालना, अपाङ्ग, ज्येष्ठ नागरिक र महिलाको सिट संरक्षण, भाडामा छुट, दुर्घटनामा उद्धार, सडक मर्मतलगायतका विषयमाथि छलफल गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us