काठमाण्डु, १८ कात्तिक– सत्तारुढ काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको संयुक्त प्रस्तावमाथि छलफल गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज पुन: बस्दैछ ।
अपराह्न बस्ने बैठकमा उक्त प्रस्ताव संविधानसभामा लैजाने कि नलैजाने भन्ने विषयमा छलफल हुने छ । काँग्रेस–एमालेले दुई तिहाईको समर्थनमा आएको प्रस्ताव संवैधानिक समितिमार्फत संविधानसभामा लगेर छलफल गर्न पाउनुपर्ने बताएका छन् ।
एमाओवादीसहित प्रतिपक्षी गठबन्धन भने दल विशेषको प्रस्तावबारे संविधानसभामा छलफल हुन नसक्ने अडानमा छ । काँग्रेस–एमालेको प्रस्ताव विगतका सहमति, प्रतिबद्धता तथा अन्तरिम संविधानको मर्म र भावनाविपरीत रहेकाले छलफलको विषय बन्नै नसक्ने ती दलको तर्क छ ।
विपक्षीले काँग्रेस–एमाले प्रस्तावलाई संवैधानिक समितिमै रोक्ने रणनीति तय गरेका छन् । सहमति जुटाउन पछिल्लोपटक पाएको समयसीमा शनिबार नै सकिए पनि निरन्तर छलफल गराउँदै आएको संवैधानिक समिति दलहरुको विवादका कारण अन्यौलमा परेको छ ।