
काठमाण्डु, १४ कात्तिक – मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीको उपाधि जित्दै राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव युवराज लामा, राष्ट्रिय क्रिकेट सङ्घ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलगायत क्यानका पदाधिकारी र क्रिकेट खेलप्रेमीलगायतले टोलीलाई भव्य स्वागत गरेका थिए ।
टोलीलाई स्वागत गर्न पुगेका राखेपका सदस्य सचिव लामाले क्यानभित्र विभिन्न समस्या भए तापनि क्यानको सहयोग र सहकार्यमा नै खेलाडीले उक्त उपाधि हासिल गर्न सकेको बताए ।
उनले क्यानभित्र के कस्ता समस्या छन् त्यसको बारेमा राखेपले एकपटक सुरुदेखि नै समीक्षा गरी त्यसको समाधानतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले टिमको मेहनतले नै प्रतियोगितामा सफलता हासिल गरेको भन्दै आगामी दिन क्रिकेटको खेलका लागि निकै महत्वपूर्ण भएकाले बृहत् योजना बनाई सम्बन्धित निकायसँग विशेष छलफल गरी अगाडि बढ्ने बताए ।
कप्तान पारस खड्काले प्रतियोगिताको सुरुवाती खेलमा नै युगान्डासँग हार भोगेको हुनाले त्यसपछिको सबै खेल जित्नुपर्ने दबाब भएकाले टिमले धेरै मेहनत गरेको हुँदा प्रतियोगितामा दोस्रोपटक उपाधि उचाल्न सफल भएको बताए ।
उहाँले यस जितसँगै नेपाली क्रिकेटमा थप चुनौतीसमेत थपिएको चर्चा गर्दै यस सफलतालाई जोगाइराख्नका लागि सम्बन्धित निकायले क्रिकेटभित्रको संरचनालाई परिवर्तन गर्नुपर्ने भनाइ व्यक्त गरे ।
कप्तान खड्काले आगामी दिन क्रिकेटका लागि निकै महत्वपूर्ण भएकाले योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । नेपालले आगामी माघमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट डिभिजन टुमा सहभागिता जनाउनेछ । उक्त प्रतियोगितामा नेपालसहित युगान्डा, केन्या, नामिबिया, क्यानाडा र नेदरल्यान्ड्सको सहभागिता रहनेछ ।
नेपालले युगान्डालाई फाइनल खेलमा ६२ रनले पराजित गर्दै दोस्रोपटक उपाधिमाथि कब्जा जमाएको थियो । यसअघि सन् २०१३ मा बर्मुडामा भएको अन्तिम खेलमा नेपालले युगान्डालाई नै पाँच विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जित्दै नयाँ इतिहास कायम गरेको थियो ।
राष्ट्रिय झन्डासहित विमानस्थलमा हजारौँको सङ्ख्यामा पुगेका क्रिकेटप्रेमीले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको मागसमेत गरेका थिए । उनीहरुले ‘डिभिजन थ्री जितियो, स्टेडियम चाहियो, पारस दाइ आउनुभयो, डिभिजन थ्री ल्याउनुभयो, यो जित कसको नेपालको, नेपाल नेपाल नेपाल’ भन्दै नाराबाजी गरेका थिए ।