
काठमाण्डु, १४ कात्तिक– नेपाल उद्योग वाणिज्य महासंघको सम्पूर्ण कागजात प्रहरीले नियन्त्रणमा लिएको छ ।
महासंघ नेतृत्वले भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी परेपछि छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले महासंघको हालसम्मको निर्णय पुस्तिका नियन्त्रणमा लिइएको जानकारी दिए । यस्तै अध्यक्ष प्रदीप जंग पाण्डेमाथि लागेका आरोपबारे लिखित जवाफ मागिएको उनले बताए ।
यसअघि पटकपटक लिखित जवाफ माग गर्दै ताकेता गरे पनि जवाफ नआएपछि हस्तक्षेप नै गर्नुपरेको गौतमको भनाइ छ । प्रहरीका साथ जिल्ला प्रशासनका कर्मचारीले पाण्डेसँग लिखित जवाफ लिएका हुन् ।
अध्यक्ष पाण्डे अवैध अध्यक्ष रहेको र अदालतले समेत भ्रष्टाचारी ठहर गरेको भन्दै वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारी र कार्यसमिति सदस्यले विरोध जनाउँदै आएका छन् ।
पाण्डेलाई खानेपानी संस्थानको कर्मचारी हुँदा अनियमितता गरेको ठहरसहित अदालतले जेल सजाय सुनाएको थियो ।