बोक्सीको आरोपमा कपाल मुण्डन

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ९:०२ मा प्रकाशित

नुवाकोट, १४ कात्तिक – नुवाकोटको बेतिनी गाविस – ५ की एक महिलालाई स्थानीयवासीले बोक्सीको आरोप लगाई कपाल मुण्डन गरी कुटपिट तथा दुव्र्यवहार गरेका छन् ।

महिलालाई दुव्र्यवहार गरेको आरोपमा नुवाकोट प्रहरीले मुख्य नाइके ३५ वर्षीया सुनीमायाँ तामाङ र ३१ वर्षीया मनमायाँ तामाङलाई पक्राउ गरेको छ ।

यही कात्तिक ९ गते स्थानीय महिलाले बोक्सी भएको आरोप लगाउँदै साँझ ५ बजेको समयमा हँसियाले कपाल काटी, मलमूत्र खुवाउने प्रयाससमेत गरेको र शरीरको विभिन्न स्थानमा चोट लाग्ने गरी कुटपिटसमेत गरेको पीडित महिलाले बताएकी छन् ।

पीडितले नाम नै किटानी गरी दिएको उजुरीको आधारमा पीडकहरु सुनीमायाँ तामाङ र मनमायाँ तामाङलाई जिल्ला अदालत नुवाकोटमा बोक्सीको आरोप लगाई यातना दिएको मुद्दामा म्याद थप गरी कारबाही सुरु गरिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।

घटनामा संलग्न रहेकाको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी प्रमुख पौडेलले जानकारी बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us