११ वर्षीया बालिका बलात्कार घटना लेनदेनमा मिलाउन दबाब

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ४:०५ मा प्रकाशित

झापा, १४ कात्तिक– छिमेकीबाट बलात्कृत झापा जलथल–८ की ११ वर्षीया बालिकाका अभिभावकलाई पीडक पक्षले दबाब दिएर लेनदेनमा मुद्दा मिलाउन खोजेको खुलासा भएको छ ।

बालिका बलात्कारको अभियोगमा पक्राउ परेका स्थानीय रामकृष्ण गौतमको परिवारले पीडित पक्षलाई पैसामा मुद्दा मिलाउन निरन्तर धम्की दिँदै आएको जानकारी पीडितले अधिकारकर्मीलाई गराएका छन् ।
गत असोज २३ गते गौतमले बालिकालाई घरमा कोही नभएको मौका छोपी मोबाइलमा रहेको अश्लील भिडियो देखाएर यौनशोषण गरेका थिए श्र

बलात्कृत बालिका चिच्याएपछि स्थानीय अर्की बालिकाले देखेर गाउँलेलाई खबर गरेकी थिइन् । लगत्तै गौतमलाई गाउँलेले नै नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता पीडक गौतमकी श्रीमती र दाजु टङ्कमणिले पीडितकै घरमा गएर ५० हजारमा मुद्दा नमिलाए ज्यान मार्ने धम्की दिएको पीडित पक्षले बताएको छ ।
एकीकृत विकास प्रतिष्ठानको मानवअधिकार डेस्कका प्रमुख विष्णुप्रसाद  खरेल र युथ एक्सन झापा संयोजक दीपक दासको नेतृत्वमा अधिकारकर्मीको टोलीले जलथल पुगेर घटनाको स्थलगत अनुसन्धानसमेत गरेको छ ।

खरेलका अनुसार आरोपी गौतमले बलात्कृत बालिका राम्रोसँग बोल्नसमेत नसक्ने अवस्थामा छिन् । पीडित बालिकाका आमाबुबा दुवै अपाङ्ग रहेकाले बालिकाको उपचार र सुरक्षाको व्यवस्था मिलाउनसमेत अधिकारकर्मीले माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us