काठमाण्डु, १४ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनको कार्यदिशाअनुसार पार्टीलाई अघि बढाउन ११ क्षेत्रका विषयगत योजना समेटिएको वाषिर्क
कार्ययोजना केन्द्रीय कमिटीमा पेस गर्ने भएका छन् ।
शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा सचिवालयको तर्फबाट तयार पारिएको सो कार्ययोजना अध्यक्ष ओलीले छलफलका लागि पेस गर्ने तयारी गरेका हुन् ।
केन्द्रीय कार्यालय व्यवस्थापन, संगठन परिचालन, सामाजिक– आर्थिक रुपान्तरण र समृद्धिको विस्तृत प्रस्ताव तयार पार्नेदेखि ५ लाख संगठित सदस्यता वितरण, वामपन्थी एकतापछि एमालेलाई कम्युनिस्ट केन्द्र बनाउनेसम्मका विषय अध्यक्ष ओलीको वाषिर्क कार्ययोजनामा समेटिएको छ ।
अध्यक्ष ओलीको निर्देशनअनुसार केन्द्रीय सचिवालयको तर्फबाट सचिव प्रदीप ज्ञवालीले कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार पारेका हुन् । त्यसलाई सचिवालयकै बिहीबारको बैठकले पारित गरेको छ । सचिवालयबाट पारित सोही कार्ययोजना अध्यक्ष ओलीले आजको बैठकमा पेस गर्नेछन् ।