काठमाण्डु, १३ कात्तिक– सत्तारुढ काँग्रेस–एमाले बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले कात्तिक १५ गतेभित्र संविधानका विवादित विषयमा सहमति जुटाउन नसके प्रक्रियामा जार्ने निष्कर्षमा पुगेका छन् ।
तीन दल बैठक बिनानिष्कर्ष सकिएपछि बसेको दुई दलका शीर्ष नेताको बैठकले सहमतिका नाममा संवाद समितिको म्याद पटकपटक थप्न नहुने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री कृष्ण सिटौलाले सहमतिका नाममा समय घर्काउने पक्षमा आफूहरु नरहेको बताए । उनले सहमति हुन नसके कात्तिक १५ गतेपछि संवाद समितिले प्रक्रियामा जाने बाटो गरिदिनुपर्ने उल्लेख गरे ।
‘हामीसँग समय एकदमै कम छ, सहमतिका नाममा समय घर्काउने बेला छैन’, सिटौलाले भने, ‘कार्यतालिका धेरै मिचिसकिएको छ, सहमति हुन सकेन भने कात्तिक १६ गतेपछि संवाद समितिले प्रक्रियामा जानका लागि बाटो प्रसस्त गर्नुपर्छ ।’
सिटौलाले दलहरुबीच संविधानका विवादित विषयमा सहमति नभए प्रक्रियामा जानुको विकल्प नरहेको दोहोर्याए । संवाद समिति र प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेर शुक्रबार सहमतिका लागि अन्तिम प्रयास गरिने जानकारी उनले दिए ।