सहमति गर्ने सहमति गरेर सकियो बालुवाटार बैठक

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते १३:४० मा प्रकाशित

Baluwatarकाठमाण्डु, १३ कात्तिक– संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा बिहीबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा दलहरुले आफ्ना पूर्वअडान दोहोर्‍याए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद फेरि थप्ने वा अरु विकल्पमा जाने भन्ने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगिएको जानकारी दिए ।

बाबुराम भट्टराई नेतृत्वको संवाद समितिलाई विवादित विषयमा सहमति जुटाउन पछिल्लोपटक संविधानसभाले उपलब्ध गराएको समयसीमा सकिन दुई दिन मात्र बाँकी छ । ‘संवाद समितिको म्याद थप्ने वा के गर्ने भन्ने विषयमा छलफल भयो तर निष्कर्षमा पुगिएको छैन’ श्रेष्ठले भने ।

उनका अनुसार सहमतिका लागि कोसिस जारी राख्नेमा भने दलहरुबीच सहमति भएको छ । बैठक शुक्रबार अपराह्न चार बजे बस्ने गरी स्थगित भएको श्रेष्ठले बताए । 

काँग्रेस ६, एमाले ४ र एकीकृत माओवादी १० प्रदेश हुनुपर्ने अडानमा छन् । काँग्रेस–एमाले सहमति नभए प्रक्रियामा जानुपर्ने पक्षमा छन् भने एकीकृत माओवादी सहमतिमै संविधान जारी गर्नुपर्ने अडानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us