
काठमाण्डु, १३ कात्तिक – भनिन्छ, क्रिकेटमा राम्रो खेलेर मात्र जितिन्न । जित्नलाई बर्षा, भाग्य, मौसम र पीच कन्डीसनले पनि साथ दिनुपर्छ ।
यो साता बर्षाले साथ दिदा नेपाली क्रिकेट टिमले मलेसियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–३ बाट डिभिजन–२ मा स्थान बनाउन सफल भयो । प्रतियोगिताको महत्वपूर्ण मानिएका पछिल्ला दुई खेलमा बर्षा बाधक बन्दा नेपाली टिमले पूरै ओभर ब्याटिङ गर्न पाएन ।
यद्यपी बलियो अवस्थामा रहेको नेपालले पछिल्ला दुई खेलमा डकवर्थ लुइस मेथडको आधारमा अमेरिकालाई १० रन र आयोजक मलेसियाबिरुद्धको खेल ३६ रनले जित्दै समूहमा पहिलो भएर डिभिजन–२ मा फेरि बढुँवा हुन सफल भयो ।
त्यसअघि प्रतियोगिताको पहिलो खेलमा युगान्डासँग २० रनले पराजित भएको नेपालले बर्मुडालाई ८ विकेट र सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पाखा लगाएको थियो ।
प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपाली टिमले फेरि पनि डिभिजन–२ मा स्थान पक्का गर्दा महत्वपूर्ण दुई वटा प्रतियोगिताको ढोका खोल्न सफल भयो । मलेसियामा बलिङमा जमे पनि ब्याट घुमाउन नसकेका नेपालले सन् २०१५ को सुरुवातमै डिभिजन–२ मा आफ्नो क्षमता प्रमाणित गर्न सकेमा सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउनको लागि छनोट खेल्नेछ ।
नामाबियामा आगामी १७ जनावरी देखि २४ जनावरीमा हुने डिभिजन–२ को शीर्ष दुई स्थान हात पार्न सके चार दिवसीय इन्टर कन्टिनेन्सल कप खेल्न पाउनेछ । जहाँ पुग्न सके नेपाली खेलाडीले थप एक्पोजर पाउने विश्वास गरिएको छ । साथै डिभिजन–२ को शीर्ष दुई स्थानमा रहेको टोली सन् २०१९ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम चरणको छनोटमा पुग्नेछ । डिभिजन–२ मा राम्रो प्रदर्शन गरेमा नेपाली टिमलाई अर्काे अवसरको ढोका खुल्नेछ ।
शीर्ष दूई स्थान हात पारेको खन्डमा आगामी चार बर्षको लागि एकदिवसीय मान्यता पाउनेछ । डिभिजन–२ मा नेपालले आयोजक नामिबियासँगै, केन्या, नेदरल्यान्ड्स, क्यानडा र युगान्डासँग प्रतिस्पार्धा गर्नेछ ।
डिभिजन–२ मा तेस्रो वा चौथो हुने टिमले सन् २०१९ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको पहिलो चरणको छनोट खेल्न पाउनेछन् । पाँचौ वा छैटौ टिम फेरि डिभिजन–३ मा झर्नेछन् । यसअघि नेपालले अघिल्लो बर्ष न्यूजिल्यान्डमा भएको डिभिजन–२ मा प्रतियोतिगामा भाग लिएको थियो ।
आगामी वर्ष हुने एकदिवसीय विश्वपकको छनोट तथा एकदिवसीय मान्यताको लागि महत्वपूर्ण अवसर मानिएको प्रतियोगितामा नेपाली पुछारबाट दोस्रो हुदै फेरि डिभिजन–३ मा झरेको थियो । प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाली टिमले युगान्डालाई मात्र पराजित गर्न सकेको थियो ।
प्रतियोगितामा एकदिवसीय मान्यता पाउने चुकेको नेपाली टिमले अघिल्लो बर्ष बंगलादेशमा भएका ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणम भने उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छोडेको थियो ।
प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनकै आधारमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई ट्वान्टी–ट्वान्टी टिमको मान्यता दिएको थियो ।