देउसी खेलेर ३२ लाख सङ्कलन

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ९:१६ मा प्रकाशित

बागलुङ, १३ कात्तिक – तिहारको अवसरमा देउसी भैलो खेलेर नेपाल मगर सङ्घ बागलुङले ३२ लाखभन्दा बढी रकम सङ्कलन गरेको छ । सङ्घको भवन निर्माणार्थ खेलिएको देउसी भैलोबाट ३२ लाख २० हजार ९९५ उठेको नेपाल मगर सङ्घ बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिका–२ मा रहेको पुरानो भवनलाई स्तरीकरण गरेर आधुनिक सुविधासम्पन्न भवन निर्माणका लागि सहयोग जुटाउन सङ्घले देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो । यही कात्तिक ३ गतेदेखि १० गतेसम्म बागलुङ सदरमुकामलगायत आसपासका क्षेत्रमा खेलिएको देउसी भैलोबाट सो रकम जुटेको सङ्घका अध्यक्ष गणेश थापाले जानकारी दिए ।

दुई करोडको खर्चमा बन्न लागेको बहुउद्देश्यीय भवनको निर्माण आगामी माघदेखि सुरु हुने थापाले बताए । पहिलो चरणमा एक करोडबराबरको लागतमा भवन निर्माणको काम हुने भएको छ । पहिलो तलामा सभा हलसहितको भवन बन्ने जनाइएको छ । विवाह, व्रतबन्ध, सभा, सम्मेलनजस्ता समारोह आयोजना गर्न मिल्ने गरी भवन निर्माण गरिने सङ्घले जनाएको छ ।

सङ्घले आफ्नै कलाकाहरुलाई देउसी भैलोमा उतारेको थियो । परम्परागत गीत तथा नृत्यसहित बागलुङमा प्रचलित विभिन्न कला र संस्कृति झल्कने खालका झाँकीसहित देउसी खेलिएको थियो । बजारवासीले परम्परागत शैली र स्वरुपको देउसी भैलो भएका कारण सङ्घको भैलोलाई रुचाएर अवलोकन गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us