लाहुरेहरू लागे गाउँ विकासमा, ५० करोडभन्दा बढी लगानी

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ११:०९ मा प्रकाशित

म्याग्दी , १२ कात्तिक – जीवनको जोस, जाँगर र उत्साहको उमेरमा विदेशी भूमिमा परिश्रम गरेर बिताएका म्याग्दीका पूर्वलाहुरे सामाजिक काममा लागेका छन् ।

युरोपेली देशमा पुगेका म्याग्देलीहरूले आफ्नो गाउँमा विकासका काम गर्न सहयोग गर्न थालेका हुन् ।

बेलायत, बेल्जियम, अमेरिका पुगेका म्याग्देली गाउँमा विकास भित्र्याउन लागेका छन् । कसैले विदेशमै विभिन्न सङ्घ संस्था खोलेर जिल्लाका लागि काम गरेका छन् भने कसैले आफँै लगानी गरेर विकासका काम गरिदिन थालेका छन् ।

आप्रवासी संस्थाको लगानीमा जिल्लाका विभिन्न ठाउँमा ५० करोड भन्दा बढीको लगानीमा विकासका साथै सामाजिक काम भएका जिल्ला विकास समिति म्याग्दीको एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

लाहुरेहरूको लगानीमा म्याग्दीमा सडक निर्माणदेखि लिएर अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, सिँचाइ योजना, पुललगायतका कैयौँ काम भएका म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए ।

जिविस म्याग्दीको योजना तथा अनुगमन शाखाका अनुसार विदेशमा रहेका म्याग्देलीबाट मात्रै जिल्लामा ५० करोडभन्दा बढी लगानीमा विकास निर्माणका काम भएका छन् ।

“जीवनको ऊर्जाशील समय विदेशमै बिताइयो”, दाना घर भई हाल वेलायत बस्दै आएका कमल पुर्जाले भने, “युवा समयमा गाउँमा बस्न नपाए पनि अहिले विदेशमा बसेर गाउँका लागि के गर्न सकिन्छ भनेर सोचिरहेका छाँै ।” दानास्थित ज्ञानप्रकाश माविलाई सहयोग रकम हस्तान्तरण गर्न आउनुभएका पुर्जाले विद्यालयलाई दुई लाख २० हजार नगद उपलब्ध गराएका थिए ।

त्यसैगरी पुर्जा अध्यक्ष रहेको ‘फ्रेन्डली ब्रदर्श’ वेलायतको नेतृत्वमा सङ्कलित रु नौ लाख ६० हजारबाट विद्यालयले खेलमैदान निर्माणका लागि आठ रोपनी जग्गा पनि खरिद गरिसकेको छ ।

गत असारमा बेलायतमा मृत्यु हुनुभएका बेनी क्याम्पसचोकका सन्तोष श्रेष्ठको परिवारलाई सोही संस्थाको पहलमा राहत सङ्कलन गरेर पठाइएको थियो ।

पुर्जाको सक्रियतामा सङ्कलन गरिएको २० लाख नगद श्रेष्ठ परिवारलाई उपलब्ध गराइएको छ । पुर्जाले जस्तै बेलायतको बिवाइसी कम्पनीका सञ्चालक योगेन्द्र केसीले पश्चिम म्याग्दी दरबाङ युवा क्लवको भवन निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । केसीले बहुउपयोगी मञ्चसहितको एक कोठे, एक तले भवन निर्माण गर्न तीन लाख सहयोग गरेका छन् ।

केसीले दरबाङ, लुलाङ र मराङका १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि वार्षिक ५० हजार उपलब्धसमेत गराएका थिए ।

बेलायतमा मात्र नभएर बेल्जियम पुगेका म्याग्देलीहरू पनि जिल्लाको विकासमा सहयोग भित्र्याउन क्रियाशील छन् । विकास नेपाल बेल्जियम, मोनालगायतका संस्थाले जिल्लाको शैक्षिक, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा करोडाँै लगानी गरेका छन् । विकास नेपाल बेल्जियमको सहयोगमा ताकम माविको भवन निर्माण भएको छ । भवन निर्माणका लागि संस्थाले ९५ लाख सहयोग गरेको छ ।

त्यसैगरी सो संस्थाले जिल्ला अस्पताल परिसरमा रक्तकेन्द्रको भवन निर्माण गर्न पनि सहयोग गरेको थियो । संस्थाका प्रतिनिधि ज्ञान विकले सहयोग रकमको सदुपयोग गर्दै विकासमा लाग्न गाउँलेलाई आग्रह गरे ।

त्यसैगरी, पूर्व बेलायती सैनिकको संस्था कादुरीले पनि म्याग्दीको ताकम, रुम, राम्चे, चिमखोला, पाखापानी, कुइनेलगायतका ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिएको छ ।

दर्मीजा र देवीस्थानको जुक्जामा कादुरीको लगानीमा सञ्चालन भएका लद्युजलविद्युत् परियोजनाबाट स्थानीयवासीले विद्युत् सेवा उपभोग गरिरहेका छन् । कादुरीले बेगको तिप्ल्याङ, हिस्तानको दोसल्ले, बरङ्जा र कुइनेमा गत वर्ष खानेपानी योजना निर्माण गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us