साउदीमा ५९ नेपाली बन्धक, दूतावासलाई मतलबै छैन

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते २:०५ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय कम्पनीले तलब भत्ता र फर्कने कागजात समेत नदिई बिचल्लीमा पारेको हो ।
‘साइद हादी अल दोस्सरी कन्ट्राक्टिङ इष्ट’ कम्पनीमा कार्यरत उनीहरुलाई सम्झौता अवधि समाप्त भएको दुई वर्ष भइसक्दा पनि स्वदेश फर्कन दिइएको छैन । पासपोर्टलगायत कागजात कम्पनीकै कब्जामा छ ।
काठमाण्डुस्थित गोर्खा नेपाल र एसी इम्प्लोइमेन्ट ब्युरो प्रालिमार्फत साउदी पुगेका उनीहरु महिनौं तलब नपाएपछि सेप्टेम्बर दोस्रो साता कम्पनी छाडेर बाहिरिएका थिए । दोस्सारस्थित लेबरकोर्टमा कम्पनीविरुद्द उजुरी गरेपछि कोर्टले दुई पक्ष राखेर सहमति गराएको थियो ।
यसैबीच, कम्पनीले पाँच नेपाली युवालाई अपहरण शैलीमा अज्ञात स्थलमा पुर्‍याएर बन्धक बनाउँदै काममा लगाइरहेको त्यहाँबाट रेशम थिङले जानकारी दिएको छ ।

उनले ह्वाटसप एकाउन्टमा पठाएको मेसेजमा त्यहाँ उनीसहित हस्तबहादुर रावल, राजु नगरकोटी, श्रीराम घिसिङ र वीरसिंह तामाङलाई थुनुवा बनाइएको छ ।

साउदी अरबका सरकारी उच्च अधिकारीसम्म पहुँचै नभएको रिहादस्थित नेपाली दूतावास भने निरीह छ । नेपाली कामदारलाई बन्धक बनाएर राखिएको र बिचल्लीमा पारिएको सम्बन्धमा जानकारी माग्दा दूतावासले लेबरकोर्टको सहमति अवधिसम्म धैर्य धारण गर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us