अनुदान होइन व्यापार र बजार दिनोस् : मन्त्री थापा

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक – वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट अनुदान नभई व्यापारका अवसर र नेपाली उत्पादनको विश्व बजारमा सहज पहुँचको अपेक्षा गरेको बताएका छन् ।

sunil bahadur thapaनेपाल चेम्बर अफ कमर्श र नेपाल–इटाली उद्योग वाणिज्य सङ्घले द्विपक्षीय व्यापार विस्तारका संभावनाबारे मङगलबार राजधानी संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

व्यावसायिक विकास तथा सीप प्रवद्र्धनका साथै रोजगारीका अवसर सृजनामा बजारको पहुँच विस्तारले योगदान गर्ने भएकाले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थान उपलब्ध गराउन अपरिहार्य भएको उनले बताए ।

निजी क्षेत्रको सक्रिय सहयोगबाटै उद्योगधन्दा फस्टाउने भन्दै मन्त्री थापाले वर्तमान सरकारको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताका रुपमा औद्योगिक एवम् व्यावसायिक प्रतिष्ठानलाई सघाउने प्रतिबद्धता व्यक्त गरे ।

हालै भारतसँग भएको ऊर्जा व्यापार सम्झौता र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौताले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति बाटो खुलेको बताउँदै मन्त्री थापाले पूर्वाधार विकासका आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

विकास–निर्माण र रचनात्मक काममा युवावर्गलाई परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले सीप सिकाएर युवालाई स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए ।
इटालीका परराष्ट्र राज्यमन्त्री बेनेडिट्टो डेला भेडोभाले नेपालको सामाजिक– आर्थिक विकासमा सक्दो सहयोग गर्न आफ्नो मुलुक तत्पर रहेको बताउँदै अन्तर्राष्ट्रिय सहायता नियोगहरूबाट पनि अन्य सहायता उपलब्ध गराउन इटाली प्रतिबद्ध छ भने ।
आर्थिक विकासका लागि लगानी प्रवद्र्धन पहिलो सर्त भएको बताउँदै उनले आफ्नो देशका लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न प्रोत्साहन गर्ने आश्वासन दिए । साथै उनले विधिको शासन र प्रजातन्त्रको सुदृढीकरणमा पनि जोड दिए ।

नेपालका लागि इटालीका गैरआवासीय राजदूत डानियल मान्सिनीले आगामी मार्चमा मिलानमा हुने व्यापार मेलामा नेपाली उद्यमीलाई सहभागी हुन आमन्त्रण गर्दै आफ्ना उत्पादन विश्वबजारमा प्रवद्र्धन गर्न मेला सहयोगी हुने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि इटालीका अवैतनिक वाणिज्यदूत रविभक्त श्रेष्ठ, चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल इटाली उद्योग वाणिज्य सङ्घका कार्यबाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले पर्यटन, जलस्रोतजस्ता नेपालको पूर्वाधार निर्माणका क्षेत्रमा इटालीको लगानी आवश्यक भएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us