तिहारका लागी ल्याइएका ५ अर्बको सामान केरुङमा अलपत्र

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते २:०९ मा प्रकाशित

रसुवा, ११ कात्तिक– नाका बन्द हुँदा तिहारका लागि ल्याइएका ५ अर्ब रुपैयाँ बराबरको सामान केरुङमा अलपत्र परेको छ ।
चीनले दुई सातादेखि केरुङ नाका बन्द गराएपछि ती सामान अलपत्र परेका हुन् । अढाइ महिनाअघि सिन्धुपाल्चोकको माङखामा पहिरो गई अरनिको राजमार्ग अवरुद्धपछि वैकल्पिक रुपमा यो नाका चालु गराइएको थियो ।

नेपालतर्फ रसुवागढी नाकामा अध्यागमन कार्यालय स्थापना नभएसम्म नाका बन्द रहने चिनियाँ अधिकारीले व्यापारीलाई बताएका छन् ।
गोसाइकुण्ड एक्स्पोर्ट इम्पोर्टका अध्यक्ष राजु तितुङले व्यापारीले आयात गरेका सामान केरुङमा अलपत्र परेकाले सरकारले छिटो अध्यागमन कार्यालय खोलेर चीनसँग नाका सुचारु गर्न माग गरेका छन् ।

‘छिटो नाका खुले सामान अलपत्र पर्ने थिएन’ उनले भने । अस्थायी रुपमै भए पनि अध्यागमन खोल्न चिनियाँ अधिकारीले नेपाल सरकारलाई पटकपटक पत्र पठाइसकेको अध्यक्ष तितुङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us