
काठमाण्डु, २ कात्तिक– राजधानीको झोंछेस्थित न्यू एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगोबाट खसेझैं भए, जब एच एन्ड बी डेभलेप्मेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड गायब भएको थाहा पाए ।
२०७० साल पुसको घटना हो यो । खातावालले स्टेटमेन्ट मागेपछि जुनसुकै बैंकले तुरुन्तै दिने गर्छन् । एचएन्डबी कुलेश्वर शाखा पुगेर खाताको वित्तिय विवरण (स्टेटमेन्ट) मागेका उनलाई बैंकले आलटाल गर्यो । दुईचारपटक धाउँदा पनि दिएन । उनी बाध्य भएर बैंकको कमलादीस्थित केन्द्रिय कार्यालय पुगे । त्यहाँ पनि कहिले अध्यक्ष छैनन् त कहिले सिर्इओ छैनन् भन्दै थप १५ दिन झुलाइयो ।
‘स्टेटमेन्ट लिन अध्यक्ष र सिइओ किन चाहियो ?’ उनले आक्रोश पोखे । त्यसपछि बल्लतल्ल स्टेट्मेन्ट हात लाग्यो ।
‘स्टेटमेन्ट हात परेपछि त म झन्डै बेहोस भएँ,’ अग्रवालले त्यतिबेलाको घटना सम्झदै भने ,‘बैंकले बिनाजानकारी मेरो खाताबाट २ करोड ७८ लाख रुपैयाँ झिकेको रहेछ ।’
त्यतिमात्र होइन, यहीबीचमा उनले आफ्नो खातामा जम्मा गरेको २ करोड रूपैयाँ पनि थिएन । त्यसको भौचर भने उनीसँग सुरक्षित थियो । अग्रवालका अनुसार स्टेटमेन्टमा आफ्नै नामका चेकबाट २०६९ असोज २८ गते एकै दिन ९ पटक गरी २ करोड २८ लाख रूपैयाँ झिकिएको देखियो । त्यसपछि कात्तिक १७ मा दुईपटक छोरा प्रशान्तको नामबाट ५० लाख रूपैयाँ झिकिएको स्टेटमेन्ट देखियो ।
‘हामीले २०६९ कात्तिक ३ गते एक करोड र कात्तिक २७ गते एक करोड रूपैयाँ जम्मा गरेका थियौं,’ अग्रवालले भने ,‘बैंकले नगद बुझेर भौचर पनि दियो, पछि स्टेटमेन्ट हेर्दा त्यो दुई करोड खातामा जम्मा नै गरिएको देखिएन’ अग्रवालले भने ।
नागरिक दैनिकबाट