
झापा, ३१ असोज – झापाको सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कपको पहिलो चरणको अन्तिम खेलमा फेन्स क्लब भुटानले चर्च ब्वाइज काठमाण्डुलाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार स्थानीय कनकाइ उच्चमावीको खेल मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले समान १-१ गोल गरेपछि अम्पायर श्याम दनुवारले खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गराइदिएका थिए।
सुट आउटमा ३- २ गोल अन्तरले फेन्स क्लब विजयी बनेको हो। अब फेन्स क्लबले सेमिफाइनलमा झापा- ११ सँग प्रतिष्पर्धा गर्नेछ।
खेल अवधिमा पहिलो हाफको २० औं मिनेटमा विपक्षी टोलीले आत्मघाती गोल गरेपछि चर्च ब्वाइजले काठमाडौंले अग्रता लिएको थियो। खेलको दोस्रो हाफको छैठौं मिनेटमा भुटानको तर्फबाट धिरज तामाङले टिम क्याप्टेन युगल किशोर राईको सुन्दर पासको सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीको स्थितिमा पुगेको थियो।
खेलको पहिलो हाफमा आक्रमक बनेको चर्च ब्वाइज दोस्रो हाफमा भने रक्षात्मक खेलेको थियो।खेल अवधि भर दुवै टिमका आधा दर्जन बढी प्रहारहरु खेर गएका थिए।
शनिबार हुने पहिलो सेमिफाइनल खेल उर्लाबारी स्पोर्टिङ क्लब मोरङ र कञ्चनजंघा फुटबल क्लब सिलगढी भारतबीच हुने सुरुंगा जेसीजका खेल संयोजक देवेन्द्र रिसालले बताए।
असोज २८ गतेबाट स्थानीय कनकाई उच्च माविमा भइरहेको खेलको फाइनल कात्तिक ४ गते हुँदैछ।