सुरुङमार्गमा ओलीको शिलालेखबारे मन्त्रीको प्रष्टीकरणः हराएको रहेछ, पुनर्स्थापना गर्छौँ

काठमाण्डु टुडे २०८३ साउन ११ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, ११ साउन– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासको शिलालेख फेरि पुनर्स्थापना गर्ने बताएका छन ।

सुरुङमार्गको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वाधारमन्त्री लम्साललले यस्तो बताएका हुन । उनले विगतलाई सम्मान गरेर आफूहरू अघि बढ्ने पनि बताए ।

सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ । यो सुरुङमार्गको उद्घाटनका लागि आज राखिएको शिलालेखमा पूर्वाधारमन्त्री लम्सालको नाम अभिलिखित छ । ओलीको नाम हटाएकोबारे उनले भने, ‘हामीले भूतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ ।

एकदम इज्जत गर्छौँ । केही कुरा मिडियामा आएको थियो, त्यस्तो होइन । यो टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको त्यसलाई सुरक्षित सडक विभागमा राखिएको रहेछ ।

पछि जेन–जी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हराएको रहेछ ।’ उनले आफूहरूले विगतलाई सम्मान गर्ने प्रस्ट पार्दै पुनर्स्थापना गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us