जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा साँझ करिब ५:४० बजे धुन्चेतर्फ जाँदै गरेको ईभी गाडी अचानक सडकबाट तल नदीमा खसेको हो ।
दुर्घटनाको दृश्य नजिकै रहेको चिलिमे जलविद्युत् केन्द्रको सीसीटीभी क्यामेरामा कैद भएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ ।
प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार चालकको पहिचान अझै खुल्न सकेको छैन । प्रारम्भिक विवरणअनुसार गाडीमा चालक मात्रै सवार थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोलीले गाडी र चालकको खोजी जारी राखेको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।