म्यानपावर व्यवसायीको आक्रोशः सरकारले योजनाबद्ध आक्रमण गर्याे

काठमाण्डु टुडे २०८३ साउन ८ गते १९:३५ मा प्रकाशित

काठमाण्डू, ८ साउन– वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर व्यवसायीलाई कारबाही गरेपछि उनीहरू आक्रोशित भएका छन ।

अबको १५ दिनभित्र यसअघिका माग अनुसार श्रमिक पठाइसक्ने र त्यसपछि श्रमिक पठाउन बन्द गर्नेदेखि लिएर अन्य दबाबमूलक कार्यक्रम गर्ने चेतावनी उनीहरूले दिएका छन । भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै विभागले ५ सय ९८ म्यानपावर कम्पनीलाई कारबाही स्वरूप सचेत गराएको थियो ।

दोस्रो पटक समेत निर्देशन नमानेको भन्दै विभागले ८ म्यानपावरलाई ५० हजार रुपैयाँ जरिबाना समेत तिराएको थियो । विभागले म्यानपावर व्यवसायीलाई अनावश्यक कारबाही गरेको भन्दै उनीहरूले कारबाही फिर्ता लिनुपर्ने, विभागले व्यवसायीमाथि गर्दै आएको दुर्व्यवहार सच्याउनुपर्ने जस्ता माग अघि सारेका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ दिनभित्र आफ्ना माग अनुसार श्रमिक पठाउन र त्यस अवधिमा संघले सरकारसँग छलफल समेत गर्ने जनाएको छ । १५ दिनभित्र सरकार गम्भीर भएर माग सम्बोधन नगरेको खण्डमा १६ औं दिनदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने लगायत तयारी उनीहरुले गरेका छन । सरकारले १५ दिनभित्र माग सम्बोधन नगरे वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया बन्द गर्ने, देशभरि आन्दोलनमा उत्रिने र थप दबाबमूलक कार्यक्रम घोषणा गर्ने चेतावनी उनीहरूले दिएका हुन् । बिहीबार काठमाण्डूमा संघले बृहत् व्यवसायी भेला आयोजना गरेको थियो ।

भेलामा म्यानपावर व्यवसायी आक्रोशित हुँदै राज्यले आफूहरूलाई अपराधीकरण गर्न खोजेको आरोप लगाए । विभागको पछिल्लो कदमलाई ‘व्यवसायीमाथिको योजनाबद्ध आक्रमण’ भन्दै कडा आलोचना गरिएको थियो । व्यवसायीले भारतीय विमानस्थल प्रयोगका आधारमा गरिएको कारबाही तत्काल फिर्ता लिन, व्यवसायीमाथि हुने दुर्व्यवहार अन्त्य गर्न, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न, टिकटमा लगाइएको १३ प्रतिशत भ्याट हटाउन, साउदी अरबका लागि लागु गरिएको एसभीपी तथा अन्य सिन्डिकेट अन्त्य गर्ने लगायत १५ बुँदे माग अघि सारेका छन् ।

संघ अध्यक्ष डिकबहादुर खत्री सरकारले आफैं अनुमति दिएको विषयमा अहिले आएर व्यवसायीलाई अपराधी बनाउने प्रयास भएको आरोप लगाउँछन् । उनले सन् २०२४ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त निर्णय अनुसार भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाउन अनुमति दिइएको स्मरण गराउँदै अहिले त्यही विषय गैरकानुनी भन्दै ५ सय ९८ कम्पनीमाथि कारबाही गर्नु अन्यायपूर्ण भएको बताएका छन ।

सरकारकै निर्णय कार्यान्वयन गर्दा व्यवसायीले सजाय भोग्नुपरेको भन्दै उनले विभागको निर्णय फिर्ता हुनुपर्ने माग गरे । उनले वैदेशिक रोजगार क्षेत्रले ८० लाखभन्दा बढी नेपालीलाई रोजगारीमा पठाएको र देशको अर्थतन्त्र धान्ने प्रमुख आधार रेमिट्यान्स भएको उल्लेख गर्दै व्यवसायीलाई सम्मान गर्नुको सट्टा राज्यले सधैं शंकाको दृष्टिले हेरेको गुनासो गरे ।

स्पष्ट नीति निर्माण गर्नुको सट्टा व्यवसायीलाई धरपकड गर्ने र अनावश्यक दुस्ख दिने प्रवृत्ति बढ्दै गएको उनको आरोप थियो । विभागले १ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडान विवरण माग गरेको थियो । जसमा सञ्चालनमा रहेका १ हजार १ सय १७ म्यानपावरमध्ये ६ सय ७८ ले विवरण उपलब्ध गराएका थिए । तीमध्ये १ सय ५६ म्यानपावरलाई विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको भन्दै उनीहरूलाई पहिलो पटकका लागि कारबाही स्वरुप सचेत गराएको थियो ।

त्यस्तै विवरण उपलब्ध नगराउने ४ सय ३४ म्यानपावरलाई विवरण उपलब्ध गराउन गरेको निर्देशन पालना नगरेको भन्दै पठाउन निर्देशन दिएको थियो । ८ वटा म्यानपावरलाई पटक–पटकको निर्देशन पालना नगरेको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us