एजेन्सी- कक्रोच जनता पार्टी (सीजेपी)का प्रवक्ता आशुतोष रांकाले सरकारसँग भएको वार्तामा दुईवटा मागमा सहमति भएको जानकारी गराएका छन ।
उनले सामाजिक सञ्जाल एक्समार्फत लेखेका छन्, ‘सरकारले नीटबाट प्रभावित परिवारलाई क्षतिपूर्ति दिने र प्रदर्शनकारीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने मागमा सैद्धान्तिक सहमति जनाएको छ ।’
उनले थप जानकारी दिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबारे जवाफ दिन सरकारले भोलिसम्मको समय मागेको पनि बताएका छन ।
आज शुक्रबार दिल्लीस्थित विट्ठल भाई पटेल हाउसमा सीजेपीका प्रतिनिधि र केन्द्र सरकारका मन्त्री जेपी नड्डा तथा जितेन्द्र सिंहबीच वार्ता भएको थियो ।
आशुतोष रांकाका अनुसार बैठकका क्रममा केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंहलाई जनतामा बढिरहेको आक्रोश र असन्तुष्टिबारे जानकारी गराइएको थियो ।
उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जनताको आक्रोश र असन्तुष्टि नरोकिने जानकारी समेत गराएका छन ।