काठमाण्डू, ८ साउन– बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले धर्मशाला छाड्न भनेको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो ।
अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा जानकारी गराए । अध्यक्ष पन्तले भने ‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो, धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो । त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौं ।’
दबाब कसले दियो भन्ने कुरा भने पन्तले खुलाएन । बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पन्तलाई डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन आग्रह गरेका थिए ।
व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र नै थमाएपछि डाक्टर गोविन्द केसी विकल्पबारे छलफल गरिररहेको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।
जैसीले डाक्टर केसी पूर्व जानकारी दिएरै धर्मशालामा अनसन बसेको तर अहिले व्यवस्थापन समितिले के–कति कारण ठाउँ छाड्न भन्यो भन्ने कुरा थाहा नभएको पनि बताएका छन । डाक्टर केसी विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन् ।