कासेमिरो अनुबन्धित भएपछि इन्टर मियामीमाथि छानबिन

काठमाण्डु टुडे २०८३ साउन ८ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, ८ साउन– ब्राजिलका अनुभवी मिडफिल्डर कासेमिरोलाई अनुबन्धित गरेपछि इन्टर मियामीमाथि नियम उल्लंघन गरेको आरोपबारे छानबिन सुरु गरीएको छ ।

मेजर लिग सकर (एमएलएस) ले कासेमिरोको अनुबन्धनबारे इन्टर मियामीमाथि अनुसन्धान सुरु गर्ने जनाएको हो। बुधबार इन्टर मियामीले ३४ वर्षीय कासेमिरोसँग सन् २०२७ को एमएलएस सिजनको अन्त्यसम्मका लागि सम्झौता घोषणा गरेको थियो ।

सम्झौतामा सन् २०२९ को जुनसम्म थप गर्ने विकल्प पनि राखिएको छ । कासेमिरो गत सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेडबाट बाहिरिएका थिए तर मियामीले उनको अनुबन्ध सार्वजनिक गरेको केही समयमा नै एमएलएसले विज्ञप्ति जारी गर्दै क्लबविरुद्ध ‘ट्यम्परिङ’ सम्बन्धी आरोपको समीक्षा गरिरहेको जनाएको छ।

‘लिगले यस विषयसँग सम्बन्धित सबै जानकारी संकलन गरिरहेको छ। समीक्षा पूरा नभएसम्म यसबारे थप टिप्पणी गरिने छैन,’ एमएलएसले भनेको छ । साथै इन्टर मियामी र एलए ग्यालेक्सीबिच कासेमिरोलाई अनुबन्ध गर्ने डिस्कभरी प्रायोरिटी (पहिलो अधिकार) सम्बन्धी सहमति भइसकेको भए पनि ट्यम्परिङ छानबिन सकिएपछि मात्र त्यसका सर्तहरू सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।

छानबिनको मुख्य विषय कासेमिरोको डिस्कभरी राइट्स हो । एमएलएसको यो नियमअनुसार कुनै खेलाडी लिगमा आउन चाहेमा सूचीमा राखेको क्लबलाई उनलाई अनुबन्धित गर्ने पहिलो अधिकार प्राप्त हुन्छ । प्रत्येक एमएलएस क्लबले आफ्नो डिस्कभरी सूचीमा एकै समयमा बढीमा पाँच खेलाडी राख्न सक्छ र आवश्यकताअनुसार नाम थपघट गर्न सक्छ। कासेमिरोको डिस्कभरी अधिकार एलए ग्यालेक्सीसँग थियो तर इन्टर मियामीले उनको अनुबन्ध घोषणा गर्दै उक्त अधिकार ग्यालेक्सीबाट प्राप्त गरेको जनाएको छ ।

‘इन्टर मियामीसँग कासेमिरोको डिस्कभरी अधिकारसम्बन्धी सहमति भएको छ। तर एमएलएसले गरिरहेको ट्याम्परिङ छानबिन पूरा भएपछि मात्र त्यसका सर्त सार्वजनिक गरिनेछन्,’ एलए ग्यालेक्सीले पनि विज्ञप्ति जारी गर्दै भनेको छ। कासेमिरोले गत जनवरीमै आपसी सहमतिमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय भएपछि सन् २०२६–२७ सिजनको अन्त्यमा ओल्ड ट्राफोर्ड छाड्ने घोषणा गरेका थिए ।

रियाल मड्रिडबाट पाँच पटक युइएफए च्याम्पियन्स लिग जितेका कासेमिरो सन् २०२२ मा म्यानचेस्टर युनाइटेड पुगेका थिए। यसै वर्षको फिफा विश्वकपमा उनले ब्राजिलका लागि खेल्दै टोलीलाई अन्तिम १६ सम्म पु¥याउन योगदान दिएका थिए। ‘सबैभन्दा धेरै गोल प्रेरित गर्ने कुरा जित्नु र निरन्तर प्रगति गर्नु हो। हरेक खेलाडीको सोच यही हुन्छ,’ कासेमिरोले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us