काठमाण्डू, ७ साउन– बैंकिङ कसुरमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा यति बेला बयान सुरु भएको हो । उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शङ्करलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ ।
गत जेठ २८ गते उनीहरूविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो ।
बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
जगदम्बा स्टिल्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम भट्ट र अग्रवालको मिलेमोतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको र जग्गा खरिदका लागि बैना गर्न प्रयोग गरिएको दाबी अभियोग पत्रमा गरिएको छ ।