कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधारः ओली

काठमाण्डु टुडे २०८३ साउन ७ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, ७ साउन– पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधार हुने बताएका छन ।

आज (बिहिबार) नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरू पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

त्यसक्रममा अध्यक्ष ओलीले नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा दुवै नेताको अतुलनीय योगदान रहेको स्मरण समेत गरेका छन ।

अध्यक्ष ओलीले पुष्पलाल श्रेष्ठलाई केवल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवका रूपमा मात्र नभई इतिहासको नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा चित्रण समेत गरे ।

पुष्पलालले राजनीतिक आन्दोलनलाई जनताको दैनिक जीवन, विशेषगरी मजदुर र किसानका समस्यासँग जोड्ने काम गरेको भन्दै शहीद गङ्गालाल श्रेष्ठका भाइ पुष्पलालले आफ्ना दाजुबाट प्राप्त प्रेरणाकै आधारमा जीवनभर परिवर्तनका लागि सङ्घर्ष गरेको ओलीले स्मरण गरेका छन ।

त्यसैगरी, ओलीले बीपी कोइरालालाई बहुआयामिक व्यक्तित्व र नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गरेका छन् । पुष्पलाल र बीपी कोइराला दुवैले आ–आफ्नो ठाउँबाट मुलुकको रूपान्तरणमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै उनीहरूका असल कार्यबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

तत्कालीन समयमा निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्र विरुद्ध लोकतान्त्रिक र प्रगतिशील शक्ति मिल्नुपर्छ भन्ने पुष्पलालको नीति सुरुमा स्वीकार नगरिए पनि पछि २०४६ सालमा त्यही नीति नै परिवर्तनको मुख्य आधार बनेको ओलीले बताए ।

ओलीले भिडियो सन्देशमा भनेका छन, ‘अहिले आन्दोलनले केही धक्का महसुस गरे तापनि अग्रज नेताहरूको दीर्घकालीन सोच, दूरदृष्टि र दृढताबाट प्रेरणा लिएर आन्दोलन फेरि सशक्त रूपमा अगाडि बढ्न सकिन्छ’ ‘बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासन कालले नेपाली राजनीतिलाई सधैँ ऊर्जा र प्रेरणा प्रदान गरिरहने छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us