बारामा कांग्रेस सभापति गगन थापा र देउवा पक्षबीच झडप

काठमाण्डु टुडे २०८३ साउन ५ गते २२:०५ मा प्रकाशित

बारा- कांग्रेस बारामा पार्टी कार्यालयको आधिकारिकता र जिल्ला नेतृत्वको विवादलाई लिएर मंगलबार सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताबीच झडप भएको छ ।
१४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति राजेश यादव र विशेष महाधिवेशनपछि केन्द्रीय समितिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका मनोज भट्ट पक्षका कार्यकर्ताबीच कलैयास्थित पार्टी कार्यालयमा  झडप भएको हो ।

यादव थापा निकट र भट्टलाई देउवा  निकट मानिन्छ ।

भट्ट पक्षले जिल्ला कार्यसमितिको बैठक बोलाएको थियो भने यादव पक्षले सोही समयमा पार्टी कार्यालयमै नेपाल महिला संघको भेला आयोजना गरेपछि दुवै पक्ष आमनेसामने भए ।

भट्टले आफ्नो बैठक बिथोल्ने उद्देश्यले अर्को पक्षले नियोजित रूपमा कार्यक्रम राखेको आरोप लगाए ।

यता यादवले भने आफू वैधानिक जिल्ला सभापति रहेको दाबी गर्दै आफ्नो कार्यक्रम बिथोल्न भट्ट पक्षका कार्यकर्ता आएको आरोप लगाए ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा केन्द्रीय अनुशासन समितिले यादवसँग स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरण नदिएपछि केन्द्रीय समितिले उनलाई निलम्बन गर्दै उपसभापति भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

तर यादवले आफ्नो निलम्बन अवैधानिक भएको दाबी गर्दै पार्टी गतिविधि सञ्चालन गर्दै आएका छन् ।
झडपको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो ।

त्यसपछि भट्टले पार्टी कार्यालयभित्र संक्षिप्त सम्बोधन गरे पनि तय गरिएको जिल्ला कार्यसमितिको बैठक भने बस्न सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us