प्रधानमन्त्री निवास घेराउ गर्न पुगेका राहुल गान्धीसहित विपक्षी नेता पक्राउ

काठमाण्डु टुडे २०८३ साउन ५ गते २१:५४ मा प्रकाशित

एजेन्सी- राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीट (नीट ) प्रश्नपत्र बाहिरिएको  प्रकरण र आन्दोलनरत विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोधमा प्रधानमन्त्री निवासअगाडि प्रदर्शनमा उत्रिएका भारतका विपक्षी गठबन्धनका प्रमुख नेता राहुल गान्धीसहित शीर्ष नेताहरूलाई मंगलबार दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, नीट प्रकरणमाथि संसदमा तत्काल छलफल र विद्यार्थीमाथिको बल प्रयोगको छानबिनको माग गर्दै विपक्षी सांसदहरूले प्रधानमन्त्री निवास घेराउ गरी धर्ना दिएका थिए ।

प्रदर्शन हटाउने क्रममा प्रहरीले राहुल गान्धी, प्रियंका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेसका वरिष्ठ नेता तथा पञ्जाबका पूर्वमुख्यमन्त्री चरणजीत सिंह चन्नी, सुखजिन्दर सिंह रन्धावालगायतका नेतालाई नियन्त्रणमा लिएको हो ।

हिरासतमा परेपछि राहुल गान्धीले सरकारले विद्यार्थीको आवाज दबाउन बल प्रयोग गरेको आरोप लगाए ।

उनले प्रश्नपत्र लीकका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेकाले सरकारले संसदमा छलफलबाट भाग्न नहुने बताए ।

संसद परिसरमा सञ्चारकर्मीसँग उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीले घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।

आन्दोलनरत विद्यार्थीमाथि भएको लाठीचार्जको आलोचना गर्दै उनले दोषीमाथि कारबाहीसँगै विद्यार्थीसँग सार्वजनिक रूपमा माफी माग्न सरकार तयार हुनुपर्ने धारणा राखे ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि विद्यार्थीमाथिको बल प्रयोगको निष्पक्ष छानबिन र संसदमा विस्तृत छलफलको माग गर्दै सरकार लोकतान्त्रिक बहसबाट पन्छिन खोजेको आरोप लगाए ।

यता सरकारका तर्फबाट वार्ताका लागि धर्नास्थल पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले भने विपक्षीले सहमति तोडेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मा उनले राहुल गान्धीले संसदमा नीट प्रकरणबारे छलफल गराउने सहमति भए धर्ना अन्त्य गर्ने बताएका भए पनि सरकारले त्यसमा सहमति जनाएपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई नयाँ सर्तका रूपमा अघि सारेको आरोप लगाए ।

सरकारले विपक्षी दलले संसदमा औपचारिक रूपमा छलफलको प्रस्तावसमेत दर्ता नगरेको दाबी गरेको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का सांसदहरूलाई विद्यार्थीका चिन्ता सम्बोधन गर्न र सरकारको धारणा स्पष्ट रूपमा युवामाझ पुर्‍याउन निर्देशन दिएका छन् ।

उनले प्रश्नपत्र लीकमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

नीट प्रश्नपत्र लीक प्रकरणलाई लिएर संसदको हिउँदे अधिवेशन  सुरु भएयता भारतमा राजनीतिक विवाद झन् चर्किएको छ ।

विपक्षी दलले संसदभित्र र बाहिर आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् भने सरकारले दोषीलाई कानुनी दायरामा ल्याएर परीक्षा प्रणालीप्रतिको विश्वास कायम गराइने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us