काठमाडौं- काठमाडौं उपत्यकाका नाकाबाट आवागमन गर्ने यात्रुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुन सक्रिय भएसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै प्रशासनले ‘ट्राभल एलर्ट’ जारी गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेपछि उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमका सबै प्रवेश तथा निकास नाकाबाट यात्रा गर्ने सर्वसाधारण, सवारीधनी, चालक र सहचालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ लाग्न प्रशासनले अनुरोध गरेको छ ।
विशेषगरी रातिको यात्रा गर्दा थप सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
विगतमा रातिको समयमा बाढी र पहिरोका कारण ठूलो क्षति भएकाले सम्भावित जोखिमका दिन अनावश्यक यात्रा नगर्न र यात्रा गर्नै परे अत्यधिक सतर्क रहन भनिएको छ ।
प्रशासनका अनुसार राजमार्गको कुनै खण्ड बाढी वा पहिरोका कारण अवरुद्ध भएमा सवारीलाई सुरक्षित स्थानमा रोक्नुपर्नेछ ।
यात्रुलाई आवश्यक पर्ने खाना तथा पानीको व्यवस्थासमेत मिलाउन र प्रहरी प्रशासनबाट सडक सञ्चालन भएको आधिकारिक जानकारी प्राप्त भएपछि मात्र यात्रा अघि बढाउन पनि आग्रह गरिएको छ ।