काठमाण्डु, २ साउन– कुनै समयएकै राजनीतिक यात्राका सहयात्री रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेकपा नेतृ रञ्जिता श्रेष्ठबीचको सम्बन्धमा उत्पन्न पारिवारिक तनाव सामाजिक सञ्जालमै छताछुल्ल हुन थालेको छ ।
रेशम र रञ्ज्तिा श्रीमान–श्रीमती हुन् । सामाजिक सञ्जालमा एकअर्का लक्षित टिप्पणीले दुई नेताबीचको मतभेद राजनीतिक बहसभन्दा व्यक्तिगत सम्बन्धको तहमा झरेको छ ।
दुवैले एकअर्काको नाम नलिई लाक्षणिक रुपमा आरोप प्रत्यारोप गरेका छन् । फेसबुकमा पोष्ट गरिएका पछिल्ला अभिव्यक्तिमा प्रयोग भएका संकेत, व्यंग्य र शब्द चयनले निशाना एकअर्कातर्फ रहेको प्रस्ट बुझिन्छ ।
रञ्जिताले संगठनभित्रै समस्या सिर्जना गरेर बाहिर प्रभाव देखाउन खोज्ने रेशमको प्रवृत्तिमाथि प्रश्न उठाउँदै कटाक्षपूर्ण स्टाटस लेखेकी थिइन् । उनको अभिव्यक्तिको केन्द्रमा पार्टीभित्रको अनुशासन, नेतृत्व र निर्णय प्रक्रियामाथिको असन्तुष्टि देखिन्थ्यो ।
उनले आफ्नो भनाइलाई संस्कृत उक्ति जोड्दै प्रस्ट्याएकी छन् । उनले लेखेकी छन्, ‘स्वगृहे दाहं कृत्वा परगृहं रक्षितुमिच्छति ।’ अर्थात् ‘आफ्नै घरमा आगो लगाउनेले अरूको घर जोगाउने दाबी गर्नु’, रञ्जिताले लेखेकी छन् ।
रञ्जिताको अभिव्यक्तिको जवाफ रेशमले पनि फेसबुकबाटै दिएका छन् । उनले आफूलाई कमजोर पार्ने प्रयास भइरहेको संकेत गर्दै विगतमा आफ्नो साथबाट अघि बढेकाहरूले नै अहिले प्रहार गरिरहेको बताए । ‘घरमा भ्वाङ मैले पारेको होइन, आफैंले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले किन बहुलट्ठीपन प्रदर्शन गरिरहनु’, उनले भनेका छन् ।
उनले आफूविरुद्ध चलाइएको प्रयास अन्ततः उल्टै असर गर्ने चेतावनीसमेत दिएका छन् । ‘जुन गोली पड्काएर मलाई सिकार गर्न खोजिदैछ, त्यही गोली उता फर्के आफैं मरिने हो’, रेमश भन्छन् ।
रेशमले धार्मिक र नैतिकताको प्रसंग उठाउँदै रञ्जितालाई कटाक्ष गरेका छन् । ‘धार्मिक मान्छेले सबको भलो होस् भन्नुपर्छ, अर्काको सत्यानास होस् भन्ने मान्छे कहिल्यै पुजारी हुन सक्दैन’, रेशमले लेखेका छन् । एनले अगाडि लेखेका छन्, ‘आफ्नो घर सम्हाल्नु, अर्काको घरमा आगो नलगाउनु । बाँकी जय होस् ।’
दुवै नेताका अभिव्यक्तिले नागरिक उन्मुक्ति पार्टीभित्र लामो समयदेखि देखिँदै आएको मतभेदलाई फेरि सार्वजनिक बहसमा ल्याएको छ । व्यक्तिगत सम्बन्ध र राजनीतिक भूमिकाबीचको सीमाना मेटिँदै जाँदा रेशम–रञ्जिता विवादलाई पार्टीभित्रको शक्ति संघर्षको संकेतका रूपमा समेत हेर्न थालिएको छ ।