काठमाडौं- कांग्रेस सभापति गगन थापाले अग्रणी नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन् ।
८७ वर्षको उमेरमा शुक्रबार निधन भएका पाण्डेप्रति शनिबार फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा पाण्डे जीवनभर निर्भीकतापूर्वक उभिएको उल्लेख गरेका छन् ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध सशक्त आवाज उठाएको र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरेको बताएका छन् ।
थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको उल्लेख गरेका छन् ।
सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने उनको भनाइ छ ।
सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा पाण्डेको भूमिका विशेष स्मरणीय रहेको उल्लेख गर्दै थापाले उनले प्रज्वलित गरेको नागरिक चेतनाको दीप र बौद्धिक सम्पदाले नेपाली समाजलाई सधैं मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् ।
थापाले दिवंगत पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।