तीनबुँदे माग अघि सार्दै डा. गोविन्द केसीले दिए सत्याग्रहको चेतावनी

काठमाण्डु टुडे २०८३ साउन १ गते ११:५८ मा प्रकाशित

काठमाण्डू, १ साउन– प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी स्वार्थको प्रभाव हटाउन तथा चिकित्सा शिक्षालाई कानुनअनुसार पूर्ण रूपमा गैरनाफामूलक बनाउन सरकारसँग माग गरेका छन ।

मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने चेतावनी उनले दिएका छन् । उनले आज प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध सार्वजनिक सेवा तथा गैरनाफामूलक क्षेत्र भएको उल्लेख गर्दै उनले विकसित मुलुकहरूमा समेत यी क्षेत्र सरकारी वा गैरनाफामूलक संस्थामार्फत सञ्चालन हुने गरेको बताएका छन् । ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि त्यसको कार्यान्वयनका लागि सरकारले आवश्यक तयारी नगरेको आरोप उनले लगाएका छन् ।

डा. केसीले निजी शिक्षण संस्थासँग स्वार्थ गाँसिएका व्यक्तिहरूलाई चिकित्सा शिक्षा सम्बन्धी नियामक निकाय तथा मेडिकल विश्वविद्यालय लगायतका संस्थामा नियुक्त गर्ने क्रम जारी रहेको भन्दै त्यसले चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीमा दीर्घकालीन नकारात्मक असर पार्ने बताएका छन् ।

उनले स्वार्थको द्वन्द्व हुने गरी नियामक निकाय तथा मेडिकल विश्वविद्यालयमा गरिएका नियुक्ति तत्काल खारेज गर्न, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिना निजी कलेजहरूको सिट संख्या बढाउने प्रस्ताव फिर्ता लिन तथा चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा सरकारीभन्दा न्यूनतम मापदण्डसमेत पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै वर्तमान सरकारको चिकित्सा शिक्षा तथा स्वास्थ्य नीति निर्माण, कार्यान्वयन र सार्वजनिक संस्थानहरूमा हुने नियुक्तिमा निजी मेडिकल व्यवसायी तथा उनीहरूको प्रभाव बढेको दाबी गरिएको छ ।

डा. केसीले आफ्ना मागहरू २०८३ साल साउन ५ गतेभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रम पुनस् सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us