सरकार अधिनायकवादी र सर्वसत्तावादीको प्रतिविम्ब देखियोः एमाले सांसद अर्याल

काठमाण्डु टुडे २०८३ असार २४ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, २४ असार– प्रतिपक्षी दल एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै एमाले सांसद अर्यालले यस्तो बताएकी हुन ।

उनले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको समेत आरोप समेत लगाएकी छन ।

उनले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र नेपालले भारतको जग्गा मिचेको जस्ता विवादास्पद अभिव्यक्ति दिएर देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने काम गरेको पनि बताएकी छन ।

अर्यालले संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन नभएको भन्दै संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नपाइने पनि बताइन् ।

उनले लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, संघीय शासन प्रणाली, समावेशी व्यवस्था र मौलिक हकलाई खलबल्याउने गरी चाल्ने कुनै पनि कदमहरु स्वीकार्य नहुने पनि बताएकी छन ।

प्रतिपक्षले विरोधका लागि विरोध मात्रै नगर्ने भन्दै जनमतको सम्मान हुने गरी सरकारलाई सफल बनाउन आफ्नो दलले खबरदारी जारी राख्ने पनि उनले बताइन् ।

सरकारलाई १०० दिनको अवधिबाट गम्भीर पाठ सिक्न सुझाव दिँदै उनले राजनीतिक प्रतिशोध, घृणा प्रेरित गैर–न्यायिक गिरफ्तारी, अपारदर्शी समूहको निर्देशनमा सरकार सञ्चालन, विधिको उल्लङ्घन र संसद्प्रतिको गैर–जवाफदेहिता त्याग्न गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us