सांसद राजेन्द्र राईलाई सभामुखले किन रोके बोल्न ?

काठमाण्डु टुडे २०८३ असार २४ गते १२:५८ मा प्रकाशित

 काठमाण्डू, २४ असार– आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद राजेन्द्र राईले बोल्न सुरु मात्र के गरेका थिए, सभामुख डोलप्रसाद अर्यालले भने, ‘माननीय सदस्य म तपाईंलाई त्यसभन्दा अगाडि नबढ्न निर्देशन दिन्छु ।’

सभामुख आफैंले समय दिएर किन रोके त सांसद राईलाई बोल्न ? सांसद राईले सभामुख र सभाको अवहेलना गरेको भन्दै सभामुख अर्यालले नबोल्न निर्देशन दिएका हुन् ।सांसद राईले माइक हातमा लिनासाथ भनेका थिए, ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्‍यो ।

तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई यो निवेदन हो ।’ त्यसपछि सभामुख अर्यालले भने, ‘माननीय सदस्य आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला । माननीय सदस्यलाई म योभन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ । समय दिँदैन, बस्नु्स् ।’ सांसद राईको माइक काटेर सभामुखले नेपाली कम्युनिष्ट पार्टीका सांसद् परशुराम तामाङलाई बोल्न समय दिए तर तामाङ बोल्न उठेनन् ।

कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले एमाले सांसद राईले भन्दा पहिला नै आफ्नो धारणा राखीसकेकी थिइन् । एमाले सांसदहरूले उभिएर विरोध गरिरहे ।

त्यसपछि सभामुखले थपे, ‘माननीय सदस्यहरूले बोल्ने क्रममा स्पष्ट रुपमा सभामुखको अपमान हुने गरी जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ यो विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले हलबाटै ।’ त्यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले नियमापत्ति भन्दै हात उठाइन । उनले सांसद राईको भनाइ रेकर्डबाट हटाउन वा भावी पुस्तालाई देखाउन राख्नुपर्ने धारणा राखिन् ।

सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा छलफल भएका बेलामा बाहेक सभामुखको आचरणको विषयमा प्रश्न उठाउन नपाउने व्यवस्था स्मरण गराइन् । सांसद संग्रौलाको भनाइ सकिएपछि सभामुखले पुनः सांसद राईलाई बोल्न समय दिए । सभामुखले भने, ‘माननीय सदस्यले आफ्नो भाषा सुधार्ने र क्षमायाचना गर्ने भन्नु भएको छ ।

के भन्न खोज्नु भएको हो उहाँलाई माइक दिनुस् ।’ दोस्रोपटक माइक लिएपछि राईले भने ‘सभामुख महोदय, आज अचम्मै भयो । सभामुख यस्तो गरिमामय सदनमा आत्तिएर एउटा सदस्यले कुरा राखिरहेका बेला ।’ त्यसपछि सभामुखले विषय वस्तुमा केन्द्रित भएर बोल्न निर्देशन दिए ।

‘विषयमा प्रवेश गर्न माननीय सदस्यलाई जानकारी गराउँछु,’ सभामुखले भने । राई बोलिरहे, ‘सभामुख आत्तिएर ‘ यस्तै पारा हो भने तपाईंले पाँच वर्ष सभामुख चलाउनुहुन्न । मैले बुझिसकें । मैले तपाईंको खुट्टी हेरिसकें । किन हेरें भने नि तपाईंले कुरा सुन्नु परेन ?’ सांसद राईको भनाइ टुंगिदा नटुंगिदै सभामुखले १५ मिनेटका लागि बैठक स्थिगित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us