काठमाण्डू, १८ असार– ‘नेपाली ब्रो’ भनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार्द कानून बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन ।
आफू अर्को युवतीसँग लागेपछी श्रीमतीसँग सम्बन्ध बिग्रिएको उनले स्विकार गरेका छन । कुमारका अनुसार ईश्वरीसँग सैनिक तालीमका क्रममा प्रेम परेर विवाह भएको थियो ।
सेनाको जागीर छाडेर आफू केही समय वैदेशिक रोजगारीमा गएको उनले बताएका छन् । विदेशबाट फर्केपछी उनी टिकटकमा भाइरल भए । त्यही क्रममा प्रतिक्षा आचार्य नामकी युवतीसँग चिनजान र प्रेम भएको उनले बताएका छन् । प्रतिक्षासँग पटक–पटक शारीरिक सम्पर्क पनि हुने गरेको उनको स्वीकारोक्ति छ ।
श्रीमतीले यस विषयमा थाहा पाएपछि अदालतमा आफूमाथि वैवाहिक बलात्कार र सम्बन्ध बिच्छेदको मुद्दा हालेको उनले बताएका छन् । तर, आफूले मिलापत्र गर्न चाहेको भन्दै उनले हत्याको दिनमा अदालतमा पेशी रहेको र श्रीमती उपस्थित नभएको बताएका छन् ।
त्यही दिनमा घरमा काम गर्ने केटी र छोराले समेत गाली गरेपछि आफू आवेगमा आएको र श्रीमतीको बाटो ढुकेर हत्या गरेको उनले बयान दिएका छन् ।