काठमाण्डू, १६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २३ र २४ भदौमा भएको तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको आरोप लगाएका छन् ।
आज (मंगलबार) एमालेको खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन । उनले विभिन्न शक्तिहरूले संवैधानिक हिसाबले ढाल्न नसकेपछि उपद्रवको बाटो रोजेको समेत बताएका छन ।
उनले भने, ‘हामीले देशलाई अगाडि बढाउन खोज्यौँ । भुईँचालोले ध्वस्त पार्यो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ । अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ ।’ उनले शिक्षा, स्वास्थ्य, खेलसहितका क्षेत्रलाई अगाडि बढाउने प्रयास गरेपछि सह्य नभएर आफूलाई हटाएको उनको जिकिर छ ।
ओलीले भने, ‘विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले, तोडफोड, हत्या, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो सम्हाते, त्यसलाई वैधानिकता दिने काम भएको छ।’ उनले देशलाई फेरि शान्तिपूर्ण, भयमुक्त, साँच्चै सबै जनताले न्याय पाउने, सबै जनतालाई न्याय प्राप्त हुने प्रणालीबाट अघि बढाउने पनि बताए ।