निर्वाचन परिणाम संशोधनविरुद्ध सोम शर्माले दिए रास्वपाको निर्वाचन आयोगमा उजुरी

काठमाण्डु टुडे २०८३ असार १६ गते १७:४४ मा प्रकाशित

काठमाण्डू, १६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित सोम शर्माले आफ्नो नाम सूचीबाट हटाइएपछि पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन । शर्माले आइतबार निर्वाचन आयोगलाई पत्र लेख्दै आफूलाई हटाइनु अन्यायपूर्ण र विधानविपरीत भएको बताएका छन ।

शर्मा गण्डकी भूगोलबाट केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९३ मत प्राप्त गरी चौथो स्थानमा विजयी भएका थिए । निर्वाचन आयोगले उनलाई निर्वाचित भएको घोषणा समेत गरिसकेको थियो । तर, हाल आएर कुनै पूर्वसूचना र स्पष्टीकरणबिना नै आफ्नो नाम नामावलीबाट हटाइएको भन्दै उनले आपत्ति जनाएका छन् ।

पार्टीको विधानको दफा २२ (४) क अनुसार समावेशिता सुनिश्चित गर्नुपर्ने भए पनि गण्डकीको हकमा पहिलो पाँचभित्रै दुई जना महिला (पवित्रा थापा र पूजा बास्तोला) निर्वाचित भइसकेकाले थप क्लस्टर मिलाउन कसैलाई विस्थापित गर्नुपर्ने अवस्था नरहेको शर्माको तर्क छ ।

उनले भनेका छन्, ‘चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर मत परिणाम उल्ट्याउने कार्य विधानको मर्म र निर्वाचनको आधारभूत सिद्धान्तसँग मेल खाँदैन ।’

शर्माले आफूलाई हटाइनु केवल व्यक्तिको विषय मात्र नभई आफूलाई विश्वास गरेर मतदान गर्ने ९९३ जना प्रतिनिधिहरूको जनमतको अवमूल्यन र अपमान भएको बताएका छन् । उनले पार्टीभित्रको लोकतान्त्रिक मूल्य, विधि र संस्थागत विश्वसनीयतामाथि नै यसले गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us