विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटः भट्ट र अग्रवालको फाइल झिकाउन आदेश

काठमाण्डु टुडे २०८३ असार १६ गते १६:५५ मा प्रकाशित

काठमाण्डू, १६ असार– सर्वोच्च अदालतले पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले सर्वोच्च अदालतले उक्त रिटसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो ।

पौडेलकी श्रीमती दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतको आदेशअनुसार विशेष अदालतमा रहेको सम्पूर्ण मिसिल सर्वोच्च अदालतमा पेश गरिनेछ। त्यसपछि सम्बन्धित कागजात, प्रमाण तथा मुद्दासँग जोडिएका अन्य विवरणको अध्ययन गरी रिटमाथिको सुनुवाइलाई अघि बढाइनेछ ।

बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध रहेको देखिएकाले न्यायिक निरूपणका लागि सक्कल मिसिल आवश्यक ठहर गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।

सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ । अब सर्वोच्च अदालतले माग गरेको मिसिल प्राप्त भएपछि रिट निवेदनमाथिको थप सुनुवाइ र निर्णय प्रक्रिया अघि बढ्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us