काठमाण्डु, ६ असार– सन् २०२६ को फिफा विश्वकपको सह-आयोजक संयुक्त राज्य अमेरिकाले यात्रामा कडाइ गरेकोप्रति इरानले फुटबलको सर्वोच्च निकाय फिफामा आधिकारिक उजुरी दिने तयारी गरेको छ ।
इरानी टोली खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएकै दिन देश छाड्नुपर्ने भिसाको सर्तका कारण टोलीको तयारीमा गम्भीर असर परेको इरानले जनाएको छ । लस एन्जलसमा न्युजिल्याण्डसँग भएको आफ्नो पहिलो खेल २९२ को बराबरीमा सकिएपछि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आक्रोश व्यक्त गरेका छन् ।
उनले इरान यस विश्वकपको ‘सबैभन्दा उत्पीडित’ टोली भएको टिप्पणी गरेका छन् । इरानी फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै यी प्रतिबन्धहरू सबै सहभागी टोलीहरूलाई समान अवस्था प्रदान गर्ने सिद्धान्तको विपरीत रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो प्रतिबन्धले टोलीको तयारी प्रक्रियामा नकारात्मक असर पार्न सक्छ ।
तसर्थ, महासंघले उचित माध्यमबाट फिफासमक्ष औपचारिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै उजुरी दर्ता गर्नेछ ।’ मध्यपूर्वमा जारी युद्ध र सुरक्षा चिन्ताका कारण इरानको विश्वकप सहभागिता सुरुदेखि नै अन्योल र तनावपूर्ण रहँदै आएको छ। न्युजिल्याण्डसँगको खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानी टोलीको ‘ड्रेसिङ रुम’ मा पुगेर भेट समेत गरेका थिए ।
इरानका अनुसार उनीहरूका कतिपय महत्त्वपूर्ण प्राविधिक कर्मचारीहरूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। साथै, प्रतियोगिता सुरु हुनुभन्दा केही समयअघि मात्र इरानी समर्थकका लागि छुट्याइएको टिकटको कोटासमेत रद्द गरिएको थियो । इरानले खेलभन्दा दुई दिनअघि आयोजक सहर पुग्न र खेलको भोलिपल्ट मात्र फर्कन पाउनुपर्ने माग राखेको थियो, जसलाई अस्वीकार गरिएको छ। महासंघका अनुसार बेल्जियमसँगको दोस्रो खेलका लागि पनि सोही समस्या दोहोरिएको छ ।
यता, अमेरिकी गृह सुरक्षा विभागका प्रवक्ताले भने इरानले सुरुमै यी सर्तहरूमा सहमति जनाएको दाबी गरेका छन् । ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू जिउलियानीले पनि इरानलाई खेलका लागि तोकिएको समय र नियमबारे पहिले नै जानकारी भएको बताएका छन् ।