काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापना गर्दाको सङ्घर्ष सम्झिँदै भावुक भएका छन । आज (शनिबार) केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक नागरिकता सङ्कलन गर्न परेको सकसलाई पनि स्मरण समेत गरेका छन ।
उनले भने, ‘अहिले महामन्त्रीजीले भनिरहँदा एकदम भावुक हुने खालको परिस्थिति सिर्जना भयो। मलाई पनि अलिकति भावुक बनायो । म सम्झिन्छु पार्टी स्थापना गर्दा, निर्वाचन आयोगमा बुझाउन जाँदा २१–२२ वटा नागरिकता खोज्नका सकस । त्यसमाथि समावेशीताको कुराले त्यो चापलाई सम्झिरहेको छु ।’
रास्वपा यहाँसम्म आइपुग्नु आफ्नो मात्रै श्रेय नभएको बताए। पार्टी निर्माणमा सबै नेता, कार्यकर्ता र समर्थकको योगदान रहेको बताए। चार वर्षको पार्टी यात्रामा धेरै उतारचढाव आएको भन्दै पार्टी नागरिकको सार्वजनिक परीक्षणमा रहेको समेत रविले बताएका छन । पार्टीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने दिशामा महाधिवेशन महत्त्वपूर्ण चरण भएको पनि बताएका छन ।
उनले आफ्नो कार्यकक्षलाई समेत ऐतिहासिक स्थानका रूपमा व्याख्या गर्दै भने, ‘यो कार्यकालको केन्द्रीय समितिको यो अन्तिम बैठक हो। हामीले सचिवालयको बैठक पनि अन्तिम बैठक हिजो कार्यकक्षबाट गर्यौँ। सचिवालयका साथीहरूलाई मैले आफ्नो कार्यकक्षबाट धन्यवाद दिएँ। यही कोठाभित्र पार्टीका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरूमा हस्ताक्षर भए ।
यही कोठाभित्र मलाई गिरफ्तार गर्न हत्कडीसहित प्रहरीहरू पनि छिरे। त्यसैले यो बैठक पनि असाध्यै महत्त्वपूर्ण छ।’उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका लागि भएका सङ्घर्ष तथा बलिदानबाट प्राप्त उपलब्धिको जगमा रास्वपा उभिएको समेत बताएका छन ।