झलनाथलक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्

काठमाण्डु टुडे २०८३ असार ५ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, ५ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केहीले पार्टी, आन्दोलन, नीति र नेतृत्वप्रति अनावश्यक कचिंगल पैदा गर्ने कोसिस गरिएको बताएका छन ।

पार्टीका नेता झलनाथ खनालले ३६ बुँदे आरोपपत्र बुझाएको प्रसङ्गलाई लक्षित गर्दै संयोजक यस्तो टिप्पणी गरेका हुन । आज (शुक्रबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अहिले माधवजीले थोरै सङ्केत गर्नुभयो, कतिपय मानिसहरू पार्टी, आन्दोलन, पार्टीको नीति र नेतृत्वप्रति अनावश्यक कचिंगल पैदा गर्ने कोसिसमा छन् ।’

प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टी, लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका निम्ति लडेका पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको बताए। उनले थपे, ‘ती पार्टीहरूलाई अझै विभाजित गर्ने, त्यहाँभित्र अन्तर्कलह पैदा गर्ने, झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन् ।

जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्दै छन्।’ उनले कम्युनिस्ट पार्टीमा उतारचढाव धेरै विगतमा भोग्दै आएको समेत बताएका छन ।

उनले भने, ‘प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौँ, फ्रस्टेसन बाँड्ने काम नगरौँ। नयाँ विश्वासको साथ हामी अब महाधिवेशनको तयारीमा लागौँ । सङ्गठनलाई अझ सुदृढ गर्ने र नयाँ–नयाँ नेतृत्वहरूलाई विकास गर्ने र कार्यशैलीमा पनि नयाँ बनाउने तिर अगाडी जाऔँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us