एजेन्सी– इरानले लेबनानमा हमला रोकिने ग्यारेन्टी पाए मात्र अमेरिकासँग वार्ता हुने जनाएको छ । सीएनएनले एक कूटनीतिज्ञलाई उद्धृत गर्दै जनाएअनुसार, इरानले स्विट्जरल्यान्डमा अमेरिकासँगको वार्ता पुनः सुरु गर्नुअघि लेबनानमा भइरहेको सैन्य कारबाही रोकिने पूर्ण ग्यारेन्टी चाहेको इरानले बताएको छ ।
इरानले हालै हस्ताक्षर भएको सम्झौतामा तय गरिएका प्रावधानहरू बमोजिम लेबनानमा लडाइँ अन्त्य हुने विश्वास दिलाउनुपर्ने माग समेत गरेको छ । लेबनानमा इजरायलको लगातारको हमलापछि प्रस्तावित अमेरिका–इरान वार्तालाई अस्थायी रूपमा स्थगित गरिएको छ ।
यद्यपि, यो वार्ता पुनः कहिले सुरु हुन्छ भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन। विहीबार मात्रै फ्रान्सको भर्साइल दरबारमा इरान युद्ध अन्त्य गर्नेसम्बन्धी १४ बुँदे अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गर्ने कुरा उल्लेख थियो ।
सोही सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा छलफल गर्न आज (शुक्रबार) स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा दुई देशबीच पहिलो औपचारिक वार्ता हुने तय भएको थियो । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स त्यहाँ जाने तयारीमा थिए, तर अन्तिम समयमा आएर भ्रमण रद्द भएको छ ।