काठमाण्डू, ४ असार– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष ०८३-८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन ।
आज (बिहिबार) ब प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन । उनले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको १०.२८ प्रतिशत रहेको समेत बताए ।
अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा ०।४७ प्रतिशतले घटे पनि रकमका हिसाबले भने करिब सात अर्ब रुपैयाँले वृद्धि भएको समेत उनले बताए । यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने उनको भनाइ थियो ।
मन्त्री पोखरेलले भने, ‘आर्थिक वर्ष ०८३/८४ को कुल राष्ट्रिय बजेट २१ खर्व २४ अर्व ३४ करोड ४४ लाख मध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्व १८ अर्व ३० करोड ५० लाख विनियोजन गरिएको छ ।
यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो । यसको हिसाबले यो बजेट चालू आर्थिक वर्षको तुलनामा ०.४७ प्रतिशतले कम हो तर परिणामका हिसाबले चालू आर्थिक वर्षको भन्दा प्रस्तावित बजेट ७ अर्वले बढेको छ ।
यो बजेटले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको देखिन्छ,’ उनले भने । मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये ६९.०७ प्रतिशत रकम स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको समेत जानकारी दिए ।
विद्यालय शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुने भएकाले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाइएको उनले बताएका छन ।
त्यस्तै, २.१२ प्रतिशत बजेट प्रदेश तहमा हस्तान्तरण गरिएको छ । उनले भने, ‘शिक्षा तथा खेलकुद क्षेत्रको बजेटको ठूलो अंश विद्यालय शिक्षामा खर्च हुने र विद्यालय शिक्षाका क्रियाकलापको कायान्वयनको लागि स्थानीय तहबाट हुने भएकोले यस क्षेत्रको कुल बजेट ६९।०७ प्रतिशत स्थानीय तहमा वित्तिय हस्तान्तरण गरिएको छ ।
त्यसैगरि प्रदेश तहमा २.१२ प्रतिशत वित्तिय हस्तान्तरण गरिएको छ।’ उनले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये १ खर्ब ५० अर्ब ५८ करोड ८९ लाख रुपैयाँ अर्थात् ६८.९८ प्रतिशत रकम तलब तथा पेन्सनमा खर्च हुने बताएका छन ।