गलत गर्नेलाई आफ्नै पार्टीको भए पनि छाड्दैनौँ: गृहमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८३ असार ४ गते १३:१३ मा प्रकाशित

काठमाण्डू, ४ असार– गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन । विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको समेत उनले बताएका छन ।

गृहमन्त्री गुरुङले भने, ‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो । अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक बसेको थियो । यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ ।

गलतलाई गलत नै भन्छौँ ।’ उनले सुरक्षा निकायमा राजनीतिक दबाब, चलखेल अन्त्य भएको समेत बताएका छन । गुरुङले विपद् व्यवस्थापनको तयारीमा सरकार लागिसकेको बताए ।

पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायत विभिन्न सडक अवरुद्ध भइरहेका सन्दर्भमा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको समेत उनले बताएका छन ।

बाढी–पहिरो जस्ता विपद्का बेला तत्काल सडक खुलाउन आवश्यक उपकरण कहाँ छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको बताएका छन ।

राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित प्रणालीमार्फत डोजर तथा अन्य उपकरणको स्थान पहिचान गरी आवश्यक ठाउँमा छिटो परिचालन गर्न सकिने पनि बताएका छन ।

गृहमन्त्री गुरुङले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार्दै सरकार अघि बढ्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us